काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली निर्धारित समयमै आउने भएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । 

सेयर लगानीकर्ता संघका अधिकारीहरु सरोकारवालाहरुसँगको भेटपछि उत्साहित भएका हुन् । 

संघको तर्फबाट पूँजीबजारको विकास र विस्तारका सम्बन्धमा सरोकारवाला पक्षहरु सँग निरन्तर अन्तरक्रिया गर्ने क्रममा नेपाल स्टक एक्सचेञ्ज र भेण्डर कम्पनी (वाइको) संग छुट्टाछुट्टै भेटघाट भएको छ । सो भेटघाटको क्रममा स्टक एक्सचेञ्ज र वाइको प्रालिका अधिकारीहरुले आफूहरुलाई निर्धारित समयमै पूर्ण स्वचालित अनलाइन प्रणाली आउने विश्वास दिलाएका संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले जानकारी दिए । 

उनले दुवै निकायले दिएको जानकारी, आफूहरुलाई देखाएको पूर्वतयारीको अवस्थाबाट आगामी जेठभित्र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सुरु हुने देखिएकोले आफूहरु उत्साहित भएको बताए । 

‘उहाँहरुको प्रतिबद्धताबाट अब चाहि समयमै अनलाइन कारोबार प्रणाली सुरु हुन्छ भन्ने कुरामा विश्वस्त भई हामी फर्किएका छौ ।’ भेटघाटपछि उपाध्यक्ष फूल्लेलले बिजशालासँग भने–‘अब भने नेपाली बजारको समेत स्वर्णिम युग सुरु हुनेछ ।’ 

यसअघि बिजशालासँगको विशेष अन्तर्वार्तामा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदले समेत अर्को आर्थिक वर्ष लाग्नुुअघि नै पूर्ण स्वचालित सेयर कारोबार प्रणाली सुरु भइसक्ने प्रष्ट पारेका थिए ।