काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ मा देशको निर्यात अवस्था सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यातमा निकै धेरै सुधार देखिएको छ भने आयात भने केही कम भएको देखिएको छ । 

नेपाल राष्टबैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को वार्षिक समीक्षामा यस्तो देखिएको हो । 

आर्थिक वर्ष २०७४/७५ मा कुल वस्तु निर्यात ११.१ प्रतिशतले वृद्धि भई रु. ८१ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारततर्फ १२.४ प्रतिशतले, चीनतर्फ ४३.३ प्रतिशतले र अन्य मुलुकतर्फ ७.५ प्रतिशतले निर्यात बढेको छ । 

वस्तुगत आधारमा अलँैची, पोलिष्टर यार्न, जुटको बोरा, जस्तापाता, धागो, लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुटको डोरी, जुस, उनी गलैंचा, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

यसैगरी, समीक्षा अवधिमा कुल वस्तु आयात २५.५ प्रतिशतले बढेर रु. १२४२ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २७.८ प्रतिशतले, चीनबाट भएको आयात २५.५ प्रतिशतलेर अन्य मुलुकबाट भएको आयात १९.३ प्रतिशतले बढेको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, हटरोल सिटईन क्वाईल लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, सेनिटरीवेयर्स, खाने तेल, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । 

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २६.७ प्रतिशतले विस्तार भई रु. ११६१ अर्ब ६४ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.४ प्रतिशत रहेको थियो ।