काठमाण्डौ । देशकै सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनका उम्मेद्वार, प्रतिनिधि तथा उम्मेद्वारका शुभेच्छुकहरुले पार्टीकै केन्द्रीय निर्वाचन समितिले जारी गरेको आचारसंहिताको धज्जी उडाएका पाइएको छ । 
 

निर्वाचन समितिले जारी गरेको आचारसंहितामा प्रतिबन्धित भनिएका कामहरु नै उम्मेद्वार, प्रतिनिधि र शुभेच्छुकहरुले खुलेआम गरिरहेका हुन् । आचारसंहिता विपरीत गतिविधिमा संलग्नहरुलाई कारबाही हुने भनिए पनि आफैदारा जारी आचारसंहिताको धज्जी उडिरहे पनि निर्वाचन समितिका अधिकारी मूकदर्शक बनेका छन् । अन्ततः कांग्रेस महाधिवेशनमा पनि अन्य पार्टी, संगठनको महाधिवेशनजस्तै देखाउनका लागि मात्र आचारसंहिता जारी गरिएको र त्यसको कार्यान्वयनमा कसैले ध्यान नदिएको पाइएको छ । 

फागुन १८ गते नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले ५ बुँदे आचारसंहिता जारी गरेका थिए । आचारसंहिताको पहिलो बुँदामा आफ्नो उम्मेद्वारी प्रचार प्रसार गर्नुपर्दा भिजिटिंग कार्ड र सामान्य अपिल मात्र वितरण गर्न पाइने उल्लेख छ । यस्तै, बुँदा नं. २ मा कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार प्रसार गर्न नपाइने भनिएको छ । बुँदा नम्बर ३ मा चाहि मर्यादित, शान्तिपूर्ण र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न पनि अपील गरिएको छ । बुँदा नम्बर ४ मा स्पष्ट रुपमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुर र भृकुटीमण्डपस्थित प्रदर्शनीमार्ग गरी यी दुई स्थान पार्टीको महाधिवेशनसँग सम्बन्धित स्थल रहेकोले यी स्थानहरुको वरिपरि ५ सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामाग्री जस्तो : ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट इत्यादि टाँस्न मनाही गरिएको उल्लेख छ । सोही बुँदामा प्रचार सामाग्री जनाउने टिसर्ट, क्याप आदि लगाएर यी दुई क्षेत्रको ५ सय मिटरभित्र प्रवेश गर्न समेत मनाही गरिएको बताइएको छ । यस्ता सामाग्री ती क्षेत्रमा राखेको, टाँगेको वा लगाएको पाइएमा केन्द्रीय निर्वाचन समितिले हटाउने भनिएको छ । आचारसंहिताको ५ नं. बुँदामा सबै मतदाताहरुलाई शान्तिपूर्ण रुपमा मतदानमा सहभागी हुन आह्वान गरिएको छ । 

निर्वाचन समितिले जारी गरेको आचारसंहितामध्ये बुँदा नम्बर १ र ४ को उम्मेद्वार, कार्यकर्ता, प्रतिनिधि र शुभेच्छुकहरुले खुलेरै धज्जी उडाइरहेका छन् । भिजिटिंग कार्ड मात्र होइन, उम्मेद्वारहरुले घरजत्रा ठूला आकारका फ्लेक्स छपाएर निषेधित भनिएको क्षेत्रमा छपक्कै बनाएका छन् । भृकुटीमण्डपको ५ सय मिटर यस्ता प्रचार सामाग्री राख्न, टाँग्न वा झुण्डाउन नपाइने भनिए पनि सबैभन्दा बढी भद्धा प्रचार सामाग्री र आचारसंहिताले निषेध गरिएको ठूला प्रचार सामाग्री भृकुटीमण्डप क्षेत्रमै राखिएको छ । त्यहाँ जताततै उम्मेद्वारहरुको फ्लेक्स प्रिन्ट झुण्डाएको देख्न सकिन्छ । पार्टीको केन्द्रीय कार्यालय रहेको भवन वरिपरि ५ सयमिटर भित्र प्रचार सामाग्री राख्न नपाइने आचारसंहिता भए पनि पार्टी कार्यालय परिसर र कार्यालय रहेको भवनकै भित्तामा समेत नेताहरुले ठूला ठूला फ्लेक्स प्रिन्ट लर्काएका छन् । अरु त अरु कार्यालयको मुख्य गेटमै कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला लगायतको फ्लेक्स प्रिन्ट टाँगिएको छ । 

निर्वाचन आचारसंहिताको खुलेआम उल्लंघन भइरहँदा पनि केन्द्रीय निर्वाचन समिति चाहि किन नबोलेको होला ? कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले आफूहरुले अनुरोध गर्दागर्दै उम्मेद्वार र प्रतिनिधिहरुले आचारसंहिता उल्लंघन गरेका गुनासो पारे । आफूहरुले शहरमा फोहोर देखिने गरी, पर्यावरणमा असर पुग्ने गरी जथाभावी रुपमा फ्लेक्स नराख्न अनुरोध गरे पनि अनुगमनमा समय दिन नभ्याउँदा अटेर गरी जथाभावी गरिएको भन्दै यसलाई तत्काल नियन्त्रण गर्ने दाबी गरे । ‘तपाईँले हामीलाई सूचना दिनुभयो, हामी कन्टोल गर्ने मेकानिजम तुरुन्तै सक्रिय पार्छौ ।’–पराजुलीले भने ।