काठमाण्डौ । निलम्बनमा रहेको झण्डै ७ वर्षपछि क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडको नेप्सेमा कारोबार खुलेको छ । 

नेपाल राष्ट्रबैंकको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्जले ७ वर्षदेखि निलम्बनमा रहेको यो कम्पनीको कारोबार खुलाएको हो । 

यसअघि नेप्सेमा यो कम्पनीको अन्तिम पटक सेयर कारोबार २०६८ साल जेठ २४ गते भएको थियो । 

यो कम्पनीलाई केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले समेत कारोबार रोकेको थियो । 

नेपाल राष्ट्रबैंकले यो कम्पनीको अवस्था तथा बित्तीय विवरणको अध्यययन गर्दा बग्रेल्ती कमजोरी फेला पारेको थियो । यो कम्पनीबाट प्रभावित कर्जामध्ये अधिकांशमा अनियमितता भएको पाइएको थियो । कमजोर धितोमा समेत ठूलो कर्जा दिएर कम्पनीको अवस्था धराशायी भएको भन्दै राष्ट्रबैंकले समस्याग्रस्त बित्तीय संस्थाको सूचिमा यो कम्पनीलाई पनि राखेको थियो ।

कम्पनी समस्याग्रस्त घोषणा भएपछि नयाँ शाखा बिस्तार गर्न, लाभांश घोषणा गर्न, कर्जा बिस्तार गर्न समेत रोकिने गरिन्छ । त्यस्ता कम्पनीलाई ग्यारेन्टर बन्ने अधिकार समेत हुँदैन। 

समस्याग्रस्त भएको ७ वर्षको अवधिमा कम्पनीमा सुधार देखिएपछि नेपाल राष्ट्रबैंकले नेप्सेलाई कारोबार खुल्ला गर्न निर्देशन दिएको हो ।