उर्लाबारी (मोरङ) । एपीवान टेलिभिजनबाट प्रशारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि उनका बाबुले घरको लैनो गाई समेत विक्री गरेका छन् ।

उर्लाबारी नगरपालिका – ७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई रु ६० हजारमा विक्री गरेका हुन् । भट्टराईले त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचारको काम भइरहेको बताउनुभयो ।

निशान अहिले सो प्रतियोगिताको टप टेनमा पुगेका छन् । सामान्य परिवारमा जन्मिएका निशान स्कुलमा भर्ना भएदेखि नै उनको गीतसंगीत प्रतिको लगाव देखेर त्यसलाई सम्मान गर्दै भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो । निशानका संगीत शिक्षक विशाल राईका अनुसार सानै उमेरदेखि उनी गीतसंगीत प्रति निकै मेहनती थिए ।

भर्खरै मात्रै मिस नेपालको उपाधि जितेको उर्लाबारीका लागि नेपाल आइडल जिताउन पनि स्थानीयबासीसँगै संघसंस्थाहरु अभियानकै रुपमा लागिपरेका छन् । उर्लाबारीकै निकिता चाण्डकले मिस नेपालको उपाधि हात पार्नु भएको थियो ।

उर्लाबारीका निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराईको संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन गरिएको छ ।