काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ नयाँ कोरोना संक्रमित थपिएका छन् । 

देशभर कुल ९ हजार ४९७ पीसीआर टेस्ट हुँदा ११७२ मा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म देशमा संक्रमित हुनेहरुको कुल संख्या ६७ हजार ८०४ पुगेको छ । 

यो अवधिमा निको हुनेका संख्या भने १ हजार ८९३ रहेको छ । योसहित निको हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको छ । थपिएको संख्यासहित निको हुने दर बढेर ७३.७ प्रतिशत पुगेको छ । निषेधाज्ञा र लकडाउनको बेला ५४ प्रतिशतमा सीमित भएको निको हुने दर निषेधाज्ञा खोलेपछि भने बढेर ७३.७ प्रतिशत पुगेको हो । 

पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा ४९२ संक्रमित थपिएका छन् । भक्तपुरमा ९५ र ललितपुरमा ५० संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय थप ७ संक्रमितको मृत्यु भएको छ । तीमध्ये एक महिला र ६ पुरुष रहेका छन् । 

काठमाण्डौकी ६८ वर्षीया महिला र १६ वर्षीय पुरुष, ललितपुरका ७४ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । 

यस्तै, मृत्यु हुने अन्य पुरुषहरुमा झापा(८६ वर्ष), सिरहा(५०), बदिर्या(६४ र ३९) रहेका छन् । 

हाल देशभर २२० संक्रमित आइसियूमा र ४३ जना भेन्टिलेटरमा उपचाररत छन् ।