काठमाण्डौ । विगतमा लामो समयसम्म अर्थमन्त्रीको बागडोर सम्हालेका कांग्रेस नेता डा. रामशरण महतले अधिकांश पुराना कार्यक्रम तथा सरकारका नियमित कामलाई समेत जोडेर नीति तथा कार्यक्रम भद्धा बनाइएको टिप्पणी गरेका छन् । 

उनले सरकारले गर्ने नियमित कामहरुलाई नीति तथा कार्यक्रममा राख्न आवश्यक नभएको उल्लेख गर्दै नयाँ कार्यक्रमहरु मात्र राखेर नीति तथा कार्यक्रम आउनुपर्नेमा त्यसो नभएको दाबी गरे । 

‘नीति तथा कार्यक्रममा धेरै त नियमित कार्यक्रम नै उल्लेख छन् ।’ उनले बिजशालासँग भने–‘केही नयाँ कार्यक्रम समेत धेरै महत्वकांक्षी आएका छन् । वार्षिक नीति तथा कार्यक्रममा पञ्चवर्षीय योजनामा समेटिनुपर्ने कार्यक्रम आउनु हाँस्यास्पद छ ।’ 

उनले लामो र मीठो भाषणले मात्र देश नबन्ने दाबी गर्दै सरकारले आफैंले घोषणा गरेका कार्यक्रम र देखेका सपना कार्यान्वयनको स्पष्ट आधार बनाउनुपर्नेमा जोड दिए । ‘महत्वकांक्षी कार्यक्रम कार्यान्वयनको ठोस आधार मैले चाहि देखिँन ।’ उनले भने–‘सरकारको गतिविधिबाट उसले घोषणा गरेका योजना पूरा गर्नसक्ने क्षमता उसमा छ भन्ने देखिएको छैन । महत्वकांक्षी कार्यक्रमको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरामा जोड दिनुपर्छ, मेरो अबको  ध्यान त्यसमा केन्द्रीत हुनेछ ।’