काठमाण्डौ । दीपकुमार उपाध्यायले राजीनामा दिएपछि रिक्त रहेको भारतका लागि नेपाली राजदूतमा सरकारले नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । 

सोमबार बसेको मन्त्रीपरषद बैठकले उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिसको निर्णय गरेको हो । उप्रेती पूर्व प्रमुख निर्वाचन आयुक्त हुन् ।  

कांग्रेस सरकारबाट राजदूत नियुक्त दीपकुमार उपाध्यायले निर्वाचन लड्ने उद्देश्यले पदबाट राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन अवस्थामा छ । सो पदमा उप्रेती सिफारिस भएका हुन् । तर, उनको नाममा भारतले एग्रिमो पठाएपछि मात्र उनी राजदूतको रुपमा नियुक्त हुन सक्नेछन् । 

मन्त्रीपरिषद बैठकले यूएईका पूर्व राजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय समेत गरेको छ ।