काठमाण्डौ । पार्टीका उपाध्यक्ष तथा शक्तिशाली नेता बामदेव गौतम र प्रधानमन्त्रीका प्रिय पात्र अर्थमन्त्री डा. युवराज खतिवडाको विषयलाई लिएर सत्तारुढ नेकपाभित्र सुरु भएको बबण्डर मत्थर हुने देखिएको छ । 

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरी लैजाने निर्णय गरेको पार्टीको सचिवालयको भावना विपरीत पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई नलैजाने, बरु अर्थमन्त्री डा. खतिवडाको नाम राष्ट्रियसभामा पठाउने अडान लिएपछि बबण्डर सुरु भएको थियो । यो प्रकरणले पार्टी फूट्नेसम्मको अनुमानहरु सार्वजनिक हुन थालेका थिए । 

नेताहरुको आ–आफ्नो अडानका कारण पार्टी नै समस्या परेपछि केही मध्यमार्गी नेताहरुको पहलमा दुवै पक्षले जित्ने खालको अवस्था सिर्जना भएको हो । 

त्यसो त सचिवालयले बामदेव गौतमको नाममा सर्वसम्मत निर्णय गर्दा समेत यही सहमति बनेको थियो । अर्थात राष्ट्रियसभा सदस्यमा गौतमलाई लाने र अर्थमन्त्रीको रुपमा डा. खतिवडालाई ६ महिना निरन्तरता दिने । तर, यो सहमतिमा अध्यक्ष ओलीले नै गडबडी गरेपछि नयाँ परिस्थितिको सिर्जना भएको थियो । 

गौतम र खतिवडाको विषयलाई लिएर पार्टीभित्र उत्पन्न बबण्डरलाई समाधान गर्न क्रियाशील बनेका नेताहरुले सचिवालयको निर्णय कार्यान्वयन गराउनैपर्ने आवश्यकतामा जोड दिई गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि सिफारिस गराउन प्रधानमन्त्रीलाई राजी बनाएका स्रोत दाबी गर्छ । गौतमको नाम सिफारिस भएपछि संविधानले दिएको सुविधाको उपयोग गर्दै आगामी ६ महिनासम्म अर्थमन्त्रीको रुपमा डा. खतिवडालाई नै निरन्तरता दिने विषयमा शीर्ष नेताबीच सहमति गराउन समेत मध्यमार्गी नेताहरु सफल भएका स्रोत बताउँछ । 

अब यो सहमतिसँगै अर्थमन्त्री डा. युवराज खतिवडा फागुन २० पछि पनि ६ महिनासम्म यही पोजिसनमा रहनेछन् । आगामी बजेट समेत उनले नै बनाउनेछन् ।

यता, बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन सरकारमा शक्तिशाली उपप्रमसहित प्रवेश गर्नेछन् । प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि अमेरिका गएपछि उनले कार्यबाहक प्रधानमन्त्रीको रुपमा सत्ताको नेतृत्व गर्नेछन् । 

त्यसो त पार्टीभित्र अर्थमन्त्री डा. खतिवडाको भविष्यको विषयमा लामो समयदेखि बहसहरु भइरहेका थिए । 

बामदेव गौतम स्वयम्ले सरकारी समाचार एजेन्सीलाई अन्तर्वार्ता दिंदै डा. खतिवडाले अर्थतन्त्रलाई डामाडोल बनाएका, पार्टीका घोषणापत्रलाई पाखा लगाएर अप्ठ्यारो अवस्था सिर्जना गरेकासम्मका आरोप लगाएका थिए । 

यिनै आरोपकाबीच खतिवडालाई अर्थमन्त्रीबाट हटाउन पार्टीभित्र र बाहिरबाट दवाब परेको थियो । दवाब थेग्नसक्ने अवस्था नदेखेपछि अर्थमन्त्री खतिवडाले पटक–पटक यो विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेका थिए । आफूलाई अप्ठ्यारो पार्न लागिएको गुनासोसहित बालुवाटार पुग्ने अर्थमन्त्रीलाई ओलीले सकेसम्म उनैलाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिने प्रयास गर्ने, राष्ट्रियसभामा पदावधि थप्न नसके पनि ६ महिनासम्म अर्थमन्त्रीमै राखेर आगामी बजेट बनाउन दिने र त्यसपछि प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बनाउनेसम्मको वचन दिएका थिए । 

डा. खतिवडाले अमेरिकाका लागि नेपाली राजदूतको पद मागे पनि ओलीले अर्थमन्त्री नरहेको अवस्थामा समेत प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बनेर काम गर्नुपर्ने वचन दिएका थिए । अबको परिस्थिति समेत यही अनुसार अगाडि बढ्ने देखिएको छ । 

डा. खतिवडाले बिहीबार संचार मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटमा भने झै उनले अर्थमन्त्रीको रुपमा ६ महिना बढी रहेर काम गर्न पुनः सपथ चाहि लिनुपर्नेछ । ६ महिनाभित्र राष्ट्रियसभा वा प्रतिनिधि सभाको सांसद हुन नसक्नेको मन्त्री पद जाने संवैधानिक व्यवस्था अनुसार नै ६ महिनापछि उनको पद स्वतः जानेछ । 

सम्बन्धित समाचारहरु: