काठमाण्डौ । सत्तासीन नेपाल कम्युनिष्ट पार्टीले सातवटै प्रदेश कमिटीका सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । 

मंसिर १२ गते सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको सत्रौ बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यको मनोनयन गर्ने निर्णय गरेको छ । 

२०७५ असोज ५ मा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा), केन्द्रीय सचिवालयको तेह्रौं बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गर्नुका साथै प्रदेशहरूका लागि ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।

मंसिर १२ गते सम्पन्न सचिवालयले सदस्यको मनोनयन गरेसँगै प्रदेश कमिटीहरुले पूर्णता पाएका छन् । 

पार्टीको बिधान अनुसार प्रदेश कमिटीको अधिकतम सदस्य संख्या २०७ रहेको छ । यो हिसाबले १ नम्बर प्रदेश कमिटीमा साबिकको नेकपा एमालेबाट १२२ र साबिक माओवादी केन्द्रबाट ८५ सदस्य मनोनयन भएका छन् । 

यसैगरी, प्रदेश नम्बर २ मा विधानतः प्रदेश कमिटीको अधिकतम सदस्य संख्या २१५ रहेकोमा साबिकको एमालेबाट १०६, नेकपा केन्द्रबाट १०६ र पार्टी एकतापछि प्रवेश गरेका ३ जना मनोनयनमा परेका छन् । 

तीन नं. प्रदेश कमिटीमा विधानतः अधिकतम सदस्य संख्या २१७ रहेकोमा एमालेबाट ११६ र माओवादीबाट १०१ जना परेका छन् ।

गण्डकी प्रदेश कमिटीमा विधानतः १८७ सदस्य संख्या रहेकोमा एमालेबाट १०२ र माओवादी ८५ जनालाई समावेश गरिएको छ । 

५ नं. प्रदेश कमिटीमा विधानतः अधिकतम सदस्य संख्या २०३ रहेकोमा साबिक एमालेबाट १०६ र माओवादी केन्द्रबाट ९७ जनाको मनोनयन भएको छ । 

कर्णाली प्रदेश कमिटीमा विधानतः अधिकतम सदस्य संख्या १७५ रहेकोमा साबिक एमालेबाट ८७ र माओवादीबाट ८८ जना परेका छन् । 

यस्तै, सुदुरपश्चिम प्रदेश कमिटीमा विधानतः अधिकतम सदस्य संख्या १८३ रहेकोमा एमालेबाट १०० र माओवादीबाट ८३ सदस्य मनोनयनमा परेका छन् । 

सबै प्रदेशमा साबिकको एमाले र माओवादीबाट मनोनयनमा परेका प्रदेश सदस्यहरुको सूचि यसप्रकार छ: