काठमाण्डौ । सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को नाम ‘बागमती र राजधानी ‘हेटौँडा’ नै रहने प्रस्ताव गर्ने निर्णय गरेको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले यस्तो प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा कायम गर्न प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशनसमेत दिने निर्णय गरेको छ ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम ‘नेपाल मण्डल’, ‘नेवा ताम्सालिङ’ र ‘बागमती’ कुन राख्ने भन्नेमा नेकपाभित्र कुरा मिलेको थिएन ।

राजधानी पनि हटौँडा, काभ्रे वा भक्तपुरमध्ये कहाँ राख्ने भन्नेमा विषयमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच एक मत थिएन ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा दुई वर्षदेखि निर्णय हुन सकेको छैन ।

अब भने छिटै प्रदेशको नाम र राजधानीका विषयमा टुंगो लाग्ने प्रदेशसभा सदस्यहरु बताउँछन् ।