काठमाण्डौ । राजनीतिक अजेण्डाको विषयमा पार्टीका २ अध्यक्षबीच सहमति हुन नसकेपछि यसअघि तोकेर पनि स्थगित भएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक बुधबार बोलाइएको छ । 

धुम्बाराहीस्थित पार्टी मुख्यालयमा नेकपाको स्थायी समिति बैठक बोलाइएको हो । यसअघि बैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको थियो । 

सो बैठकका लागि अजेण्डा तय गर्ने भनी बैशाख २४ गते पार्टीको सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकमा स्थायी समितिमा लाने अजेण्डाको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपालबीच सहमति कायम हुन सकेन । सहमति नबनेपछि ओली बैठक नै छाडेर हिँडेका थिए । यहीकारण बैशाख २५ गतेको स्थायी समिति बैठक स्थगित भएको थियो । 

खासगरी पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच अजेण्डाको विषयमा सहमति कायम हुन नसकेपछि सो बैठक स्थगित गरिएको थियो । 

त्यसपछि केही दिनसम्म दुई अध्यक्षबीच अजेण्डाको विषयमा छलफल भएको र दुईबीच सहमति बनेसँगै स्थायी समिति बैठक बोलाइएको बताइएको छ । 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले दुई अध्यादेश ल्याएदेखि नेकपाभित्र विवाद छ । सोही विषयलाई उठाउँदै २० स्थायी समिति सदस्यहरुले बैठक बोलाउन माग गर्दै लिखित पत्र नै दुवै अध्यक्षलाई बुझाएका थिए । त्यसपछि दुवै अध्यक्ष बैठक बोलाउने बाध्यतामा पुगेका हुन् । 

पार्टीभित्र उठेको विवाद समाधानको कडीको रुपमा समेत हेरिएका कारण यसपटकको स्थायी समिति बैठक सबैका लागि चासोको विषय बनेको छ ।