काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । हालै यो बिमा कम्पनीले ५० प्रतिशत हकप्रद वितरणको समेत निर्णय गरेको थियो । 

सोमबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाअनुसार भदौ ४ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लगानीकर्तालाई बोनस वितरणको निर्णय गरेको हो।

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा तथा बिमा समितिबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो कम्पनीले २० प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद वितरण गरेको थियो । 

आर्थिक वर्ष २०७३/७४ मा नेको इन्स्योरेन्सले १२ करोड ८८ लाख खूद नाफा आर्जन गरेको छ । २० प्रतिशत बोनस सेयर र १०० प्रतिशत सेयर वितरणपछि यो कम्पनीको चुक्तापूँजी ७१ करोड २८ लाखको उचाईमा पुुगेको छ । अब १० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोडको उचाईमा पुुग्नेछ ।