काठमाण्डौ । नेपाल प्रहरी(जनपद प्रहरी)ले निकै लामो समयपछि प्रहरी सहायक निरीक्षक(असई) पदका लागि भर्ना खोलेको छ । 

यो पटक ५५१ असई माग गर्दै उसले योग्य उम्मेद्वारहरुबाट दरखास्त आह्वान गरेको हो । 

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले आइतबार नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गर्दै रिक्त असई पदका लागि जनशक्ति मागेको हो ।

कुल ५५१ जना मागिएकोमा २९७ जना खुला, ११ जना अमर अशक्त प्रहरी परिवार,७७ जना आदिवासी जनजाति, ६८ जना मधेशी, ४९ महिला, ३६ दलित र पिछडिएको क्षेत्रका लागि १३ जनाको कोटा छुट्याइएको छ । 

इच्छुकहरुले आगामी भदौ १२ गतेदेखि असोज १० गतेसम्म आवेदन दिनसक्ने सूचनामा जनाइएको छ । 

महानगरीय प्रहरी आयुक्तको कार्यालय, काठमाण्डौ(रानीपोखरी), देशभरिका क्षेत्रीय प्रहरी कार्यालय तथा अञ्चल प्रहरी कार्यालबाट  असई पदमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

जुनसुकै बिषयमा प्लस टु वा प्रवीणता प्रमाणपत्र तह उतीर्ण भएको १८ वर्ष उमेर पूरा भई २४ वर्ष ननाघेकोले असईका लागि दरखास्त दिन सक्नेछ । दरखास्त सम्बन्धी बाँकी जानकारी समाचारको तल राखिएको विज्ञापनमा क्लिक गरेर हेर्न सकिनेछ ।