काठमाण्डौ । नेपालमा अहिले सहरीदेखि ग्रामीण इलाकाहरुमा धमाधम सडक निर्माणका काम भइरहेका छन् ।

स्थानीय निकाय पुनर्बहालीसँगै सहरदेखि गाउँगाउँसम्म सडक निर्माणको कामले धमाधम गति लिइरहेको छ । तर विना प्राविधिक जाँच जथाभावी सडक निर्माण गर्दा कतिपय सडकहरुमा पैदल हिँड्नसमेत जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भइरहेको छ ।

अझ सहरी क्षेत्रमा निर्माण भएका र हुँदै गरेका कालोपत्रे सडकहरु पनि विश्वसनीय छैनन् । कतिपय सडकहरु हचुवाका भरमा निर्माण भएका छन् भने कतिपय सडक कमसल सामग्री प्रयोग गरेर निर्माण गरिएका छन् । यस्तो निर्माण भएका सडकहरुका एक वर्ष नपुग्दै भत्किने, कालोपत्रे उप्कने र ठाउँठाउँमा भ्वाङ पर्ने जस्ता समस्या देखिरहेका छन् ।

राजधानी काठमाण्डौमै कुरा गर्ने हो भने अधिकांश सडक उबडखाबड छन् । कतिपय ठाउँमा वर्षौं भइसक्दा पनि सडक निर्माणले पूर्ण पाएका छैनन् ।

पक्की सडक कसरी वर्षौं टिकाउ बनाउने भन्ने नीतिमा नेपाल कमजोर देखिएको छ । बर्सेनि एउटै सडक पटकपटक बनाउनुपर्ने नियति भोग्नुपर्ने अवस्था छ ।

खराब सडककै कारण नेपालमा बर्सेनि सवारी दुर्घटनाका घटना बढ्नुका साथै सयौँ मानिसले ज्यान गुमाउँदै आएका छन् । तर न्यूनीकरणतर्फ भने सरकारको खासै ध्यान गएको देखिँदैन ।

अब कुरा गरौँ बेलायतको । बेलायतका वैज्ञानकिहरुले यस्तो पदार्थ विकसित गरेका छन्, जसको प्रयोगले सडक वर्षौंसम्म टिकाउ हुन्छ । उनीहरुले ग्राफिन नामक पदार्थ विकसित गरेका हुन् ।

ग्राफिन प्रयोग गर्दा सडकमा भ्वाङ वा खाल्डाखुल्डी पर्ने सम्भाव हुँदैहुन्न । सडक पनि मजबुत हुन्छ । यसले गर्दा सडककै कारण हुने दुर्घटनाहरु निकै कम हुने वैज्ञानिकहरुको दाबी छ ।

ग्राफिन एउटा विशेष प्रकारका कार्बन हो । यो संसारकै मजबुत पदार्थ पनि हो।

ग्राफिन कार्बन परमाणुहरु सडक निर्माणका क्रममा बिच्छ्याउने फलामे जाली बाँध्न प्रयोग हुन्छ । यसले फलामे जालीलाई मजबुत बनाउँछ । यो कार्बन अन्यको तुलनामा २०० गुना मजबुत हुन्छ । यसले मौसमका कारण सडक चिरा पर्ने सम्भावनालाई निमिट्यान्न पार्छ ।

अहिले ग्राफिन परीक्षणका लागि ब्रिटेनको अक्सफोर्डशायरमा सडक बनाउन प्रयोग भइरहेको छ । यो सडक अबको १० दिनमा तयार हुनेछ ।

सडक निर्माण सम्पन्न भएपछि सवारीसाधन र मौसमका कारण यसमा देखिने असरका बारेमा परीक्षण हुनेछ । यो पदार्थको विशेषता भनेको प्रचण्ड गर्मीमा पनि पग्लने वा फैलिने समभावना हुँदैन । त्यस्तै निकै चिसोमा पनि पनि यो पदार्थले सडकलाई चिरा पर्नबाट जोगाउँछ ।

ग्राफिनको खोज सन् २००४ मा म्यानचेस्टर युनिभर्सिटीका शोधकर्ताहरुले गरेका थिए ।

वैज्ञानिकहरुका अनुसार सडक निर्माणका क्रममा ग्राफिन मिलाएर बनाइएका निर्माण सामग्री सामान्य अवस्थाभन्दा २० प्रतिशत महँगो पर्न जान्छ । तर लामो समयसम्म सडक टिकाउ हुनाले यसको प्रयोग किफायती हुने वैज्ञानिकहरुको विश्वास छ । अझै ठूलो परिमाणमा यसको उत्पादनले लागतमा कमी हुने बताइएको छ ।

ग्राफिनको प्रयोग पहिलोपटक इटालीको राजधानी रोमको बाहिर इलाका निर्माण गरिएको सडकमा गरिएको थियो । त्यहाँ सडक निर्माण भएको वर्षदिन बितिसक्दा पनि सडक जस्ताको तस्तै छ । भारी सवारीसाधन र मौसमले त्यहाँको सडकमा कुनै किसिमको नोक्सानी पुर्याएको छैन ।

सडक निर्माणका क्रममा ग्राफिनसँगै प्लास्टिक पनि प्रयोग गर्न सकिने वैज्ञानिकहरुको ठहर छ । उनीहरुका अनुसार प्लास्टिक प्रयोग गर्दा ग्राफिनमा चिसो तापमानका क्रममा फैलिन सक्ने सम्भावनालाई रोक्दै सडकको आयु लामो बनाउन सहयोग पुर्याउँछ ।