काठमाण्डौ । नेपालका एयरलाइन्स कम्पनीबाट संचालित हवाईजहाजमा यात्रा गर्नु जोखिमपूर्ण रहेको छ । यही कारण युरोपियन युनियन(इयूू)ले यो पटक समेत नेपालका सबै १८ वटा एयरलाइन्स कम्पनीहरुलाई कालोसूचिमा राखेको छ ।

लामो समयदेखि यूरोपियन युनियनले नेपाली एयरलाइन्स कम्पनीलाई कालोसूचिमा राख्दै नेपाली आकाश जोखिमपूर्ण रहेको बताउने गरे पनि नेपाल सरकारको कमजोरीका कारण यसपटक पनि त्यही अवस्था दोहोरिएको हो । नेपालको तर्फबाट भरपर्दो कुटनीतिक प्रयास नहुँदा समेत इयूूले यसपटक पनि नेपाली एयरलाइन्सहरुलाई यूरोपसम्म उडान क्षमता बिस्तारको संभावनाको ढोका नै बन्द गर्ने गरे कालोसूचिलाई निरन्तरता दिएको हो । यो सूचिका कारण एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमको हवाईजहाज थपेर यूरोपसम्म उडान थाल्ने योजनामाथि तातोपानी खन्यिइएको छ । 

सरकारले नेपाली आकाशलाई इयूूको कालोसूचिबाट हटाउने दाबी गरे पनि यो पटक समेत त्यस्तो काममा शून्य हात लागेको छ । इयूूको कालोसूचि सार्वजनिक भएसँगै यसपटक पनि नेपाली उड्डयन क्षेत्र जोखिमपूर्ण रहेको सन्देश विश्वभरि फैलिएको छ । यसले नेपालको पर्यटन तथा हवाई उड्डयन उद्योगलाई ठूलो घाटा हुने विज्ञ बताउँछन । 

इयूूले नेपालका १८ वटा एयरलाइन्स कम्पनीमध्ये कसैले पनि यूरोपका देशहरुमा उडानको अनुमति नपाउने स्पष्ट पारेको छ । नेपाली हवाइसेवा कम्पनीले सुरक्षाको मापदण्ड पूरा नगरेको, जोखिमपूर्ण ढंगले सेवा संचालन गरिएको आरोप लगाउने गरेको छ । 

इयूूको कालोसूचिमा घरेलु हवाई सेवामा आफूलाई अब्बल दाबी गर्ने बुद्ध एयरदेखि अन्तराष्ट्रिय उडान प्रयोजनकै लागि हालै सुरु भएको हिमालयन एयरलाइन्ससम्म परेका छन् । यस्तै, एयर डाइनेस्टी, एयर काष्ठमण्डप, फिस्टेल एयर, गोमा एयर, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स पनि इयूूको कालोसूचिमा रहेका छन् ।