-प्रकाश बञ्जारा
यूएई । नेपाली सेनामा पेन्सन भएका पोखरा कास्कीका देवबहादुर कुँवर संयुक्त अरब ईमिरेट्सको अबुधावीमा यहाँको सेनासँगै काम गर्छन् ।

अत्याधुनिक हातहतियारसँगै युएई सेनामा काम गर्ने भएता पनि उनले पाउने तलव सुविधा भने सिभिल सुरक्षा गार्ड सोसरह नै छ, तर सन्तुष्ट छन्। जसले आरामले परिवार पालिएको छ, बालबच्चा राम्रो विद्यालयमा पढ्न पाएका छन् । 

देवसँगै झण्डै ७ सय नेपालीहरु सोही कम्पनीमा काम गरिरहेका छन् । तीमध्ये झण्डै १ सय नेपाली देशको सुरक्षा निकायबाट पेन्सन पकाएर आएका हुन् भने बाँकी समेत कतै न कतै नेपाली सुरक्षा संयन्त्रसँग जोडिएका वा त्यस्तो अनुभव पाएकाहरु छन् ।

उनीहरु सबैलाई युएईको अबुधाविस्थित एउटा सेक्युरिटि कम्पनीले तलव सुविधा प्रदान गर्छ भने उनीहरुको काम भने युएई आर्मीसँगै यहाँका तेल तथा ग्याँस उद्योगहरुको सुरक्षामा अत्याधुनिक हतियार सहित खटिनुपर्छ । 

नेपाल सरकारबाट आउने पेन्सनबाट बालबच्चा पढाउन र परिवार पाल्न गाह्रो भएका कारणले पेन्सनपछि आराम गर्ने उमेरमा पनि खाडी आउनु पर्ने अवस्था सिर्जना भएको पोखराका यी पुनले बताए । १८ बर्ष नेपाली सेनामा जागिर गरेका पुनले १० बर्ष त खाडीमै बिताइसके । समयले साथ दिए यही सालतिर घर फर्किने मन बनाएका यी योद्घाको उमेर अहिले ४९ बर्ष भएछ ।  झण्डै २ दशक नेपालको सेवामा खटिएर पनि फेरी खाडी पस्नु धेरैको बाध्यता भएको पुनको बुझाई छ । 

नेपाली सेनामै ३ बर्ष जागिर गरेका नेर्पा खोटाङ्गका हिमाल गुरुङ्ग ९ बर्षदेखि युएईकै अवुधावी पोलिसमा जागिर गर्दै छन् । नेपालमा पनि जागिर गरेर परिवार पाल्नसक्ने अवस्था रहेको बताउने गुरुङ्ग विदेश एउटा रहर भएको धारणा राख्छन् । गुरुङ्गसँगै अवुधावी पोलिसमा झण्डै ४ देखि ६ सयको हाराहारीमा नेपाली रहेको अनुमान छ । 

सरकारी सँयन्त्र भएको हुनाले यति नै नेपाली छन् भन्ने तथ्याङ्क भने उपलब्ध हुन सकेन । नेपालमा पहिल्यै सेना तथा प्रहरीमा काम गरिसकेकालाई मात्र भर्ति गर्ने भएकोले अनुभवी भुतपूर्व सेना, प्रहरीलाई कामसँगै राम्रो कमाई हुने जागिरको रुपमा लिइन्छ अवुधावी पोलिसलाई । काम र तलव सुविधा सन्तोषजनक रहेको खोटाङ्गका यी गुरुङ्गले बिजशालालाई बताए । 

अर्का, खोटाङ्गकै कुभिण्डेका हिराधन चाम्लिङ्ग राई ५ बर्ष सशस्त्र प्रहरी बलमा काम गरेर खाडी हानिए र जोडिन पुगे अवुधावी पोलिसमा । नेपालमा गरेको जागिरले परिवार चलाउन गाह्रो भएकै कारणले खाडी हानिएको बताउने राई अहिलेको काम र तलव सुविधामा सन्तुष्ट नै छन् ।

नेपाली सेनामै ९ बर्ष काम गरेर उपदानमा निस्केका गुल्मीका जनक ज्ञवाली पनि युएईकै एक सेक्युरिटी कम्पनीबाट दुवईमा सुरक्षा अधिकारीको काम गर्दैछन् । सेनाको जागिरले बढ्दो महँगीमा परिवार पाल्न गाह्रो भएर खाडि हानिनुपर्ने अवस्था आएको बताउने ज्ञवाली अहिले भने अलि राम्रो तलव सुविधासहितको कम्पनीको खोजीमा छन् । 

यता, नेपाली सेनाबाट पेन्सनमा निस्केका इटहरी सुनसरीका लिला भण्डारी पनि झण्डै एक बर्षदेखि युएईमै सुरक्षा अधिकारीको काम गर्छन् । पेन्सन पछिको समय आराम गर्ने समय भएको भएता पनि परिवारका केही समस्याको टुङ्गो लगाउन खाडी छिरेको बताउने भण्डारी लामो समय खाडी बस्ने मुडमा भने छैनन् । “धेरैमा २ बर्ष बस्ने योजना लिएको छु, त्यसपछि देशमै केही व्यवसाय गर्ने सोच छ।”भण्डारी भन्छन् । 

सुरक्षा सम्बन्धी काममा अनुभवी र पहिलेदेखि नै अनुशासनमा रहेर काम गरेका हुनाले धेरैजसो कम्पनीहरुले उमेरदारी र पहिल्यै अनुभव भएका कामदारलाई रोज्छन् । त्यतिमात्र नभएर गोरखा सैनिकमा राम्रो नाम कमाएका नेपालीलाई आफ्नो सेना तथा अवुधावि प्रहरीमा युएईले रोज्नुको कारण पनि नेपालीहरुले देखाएको बहादुरीपना नै हो । 

इमान्दार भएर दिएको काम लुरुलुरु गर्ने तथा झै झगडा नगर्ने नेपालीका विशेषताले नेपाली कामदार प्रति यहाँका कम्पनी तथा रोजगारदाता प्रभावित भएको पाईन्छ । त्यसले पनि नेपाली कामदारलाई महत्वपूर्ण जिम्मेवारी दिनेग रेका छन्  तथा संवेदनशील ठाउँमा भर्ती गरेर खटाउने गरेका छन् यहाँका कम्पनीहरुले । तथापि उपल्लो तहमा भने तिनैलाई मात्र लगिने गरिन्छ, जसको प्रभाव र योग्यता पनि राम्रो हुन्छ ।