काठमाण्डौ । कसैको निष्ठुरीपनलाई उपमा दिनुपर्यो भने हामी ‘ढुंगाको जस्तो मुटु भएको’ भन्छौ । कठोर, नपग्लिने र निर्दयी मान्छेहरुका लागि ‘ढुंगा जस्तो मुटु’को उपमा दिइन्छ । तर ढुंगाकै मुटु कस्तो हुन्छ, कसैले देखेको छैन । कसैले नदेखेको विषयलाई देखाउने विश्वमा वैज्ञानिक र उनीहरुजस्तै सिर्जना सोच्ने कलाकारहरु पनि छन् । नेपालको पूर्वी भेगमा पर्ने सुनसरी जिल्लामा केही साताअघि कलाकारहरुले यस्तो सोचे, जुन सोंचका कारण अहिले निकै मनमोहक विशाल ढुंगाको मुटु तयार भएको छ । निर्जिव ढुंगामा सजिव झै लाग्ने मुटु आकृति बनेपछि अहिले सुनसरीको इटहरीस्थित तालतलैयाको चर्चा चुलिएको छ । यो क्षेत्रमा ढुंगाको मुटु मात्र धड्किँदैन, ढुंगा नै हाँस्छ, ढुंगा नै रुन्छ र अनि ढुंगा नै जीवनका सारा अवयवहरुको बिषयमा बोलिरहन्छ, कलाकृतिमार्फत ।  

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य संघ इटहरीको संयुक्त आयोजनामा गत माघ ९ गतेदेखि १८ दिनसम्म पर्यटकीय क्षेत्र तालतलैयामा एकता मूर्तिकला कार्यशाला भएको थियो ।  कृति र प्रकृतिको सङ्गमस्थलका रुपमा रहेको इटहरी उपमहानगरपालिका २ र ३ को बीच भागमा रहेको चारकोसे जङ्गल क्षेत्रको मनोरम पर्यटकीय क्षेत्र तालतलैया क्षेत्रमा एकता अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भएको हो ।  

प्राकृतिक ताल र बहुमूल्य जडीबुटी बुट्यान अनि वनभोजका लागि अत्यन्तै सुन्दर मानिएको तालतलैयामा मन लोभ्याउने स्थल निर्माण गर्ने उद्देश्यका साथ विदेशी पाँचसहित ३३ मूर्तिकारहरुले आकर्षक मूर्तिहरु निर्माण गरेका छन् । अमूर्त ढुङ्गामा मानिसलाई एकताको सूत्रमा बाँध्न जरुरी छ नभए देश बन्न सक्दैन भन्ने सन्देश प्रवाहका लागि छिनो, रेतीलगायतका उपकरणबाट तयार पारिएका जिवन्त मूर्ति इटहरीका लागि सम्पदा हुने इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले बताए ।  

एउटा अपराधी मानसिकता बोकेको व्यक्ति यिनै ढुङ्गाले कसैको ज्यान लिन सक्थ्यो, तर, कलाकारको हातमा परेपछि यिनै ढुङ्गाले इटहरीको जिवन्तता दिने काम गरेको उनको भनाई छ ।

एकता अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको १८ दिने अभियानपछि तालतलैया क्षेत्रमा ३५ वटा कलाकृति तयार भएका छन् ।  कार्यशालाले तालतलैया क्षेत्रको  आकर्षण र महत्वलाई उचाईमा पुर्याएको तालतलैया संरक्षण तथा विकास समितिका उपाध्यक्ष गंगाबहादुर राय क्षेत्रीले बताए ।  मूर्ति कार्यशालापछि तालतलैया क्षेत्रको प्रचार प्रसार अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेको कार्यशाला आयोजक समिति सचिवालय सदस्य बाबुराम सुवेदीको भनाई छ । कार्यशालापछि तालतलैया क्षेत्रमा घुम्न आउनेहरुको भीड बढेसंगै व्यापार पनि बढेको स्थानीय तालतलैया होटलकी संचालिका प्रितिमाया सुनुवारले बताइन् । 

उनकाअनुसार काठमाण्डौं र पोखरादेखि इटहरीमा रहेका आफन्तलाई भेट्न आउनेहरु मूर्ति कार्याशालापछि एकपटक तालतलैया घुमेर फर्कने गरेका छन् ।  केही समयपछि पश्चिम दक्षिणमा प्रवेशद्वार बनाई मूर्ति बनेको स्थलको अवलोकन र अध्ययनका लागि निश्चित मूल्य लिने व्यवस्था तालतलैया विकास तथा संरक्षण समितिले सुरु गर्न लागेको समितिका अध्यक्ष वीरबहादुर लिम्बुले बताए  । 

तालतलैयामा कलाकारहरुले विभिन्न शीर्षकका मूर्तिहरु निर्माण गरेका छन् । ‘एकता कार्यशाला’ नाम दिएका कारण केही मूर्तिहरु यसै शीर्षकसँग सम्बन्धित छन् । यहाँको प्राकृतिक वातावरण, देशको वर्तमान परिस्थिति लगायतका भावहरु समेटिएका मूर्तिहरु निर्माण भएका छन् ।  यसअघि विगतमा चल्दै आएको विभिन्न देव देवताहरुको मुर्ति मात्र बनाउने परम्परालाई रुपान्तरण गर्दै विभिन्न फरक भाव समेटिएका मूर्तिहरु निर्माण भएको ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्ति विभाग प्रमुख  धनु याख्खाले जानकारी दिए । उनका अनुसार कार्यशालाभरि नाम चलेका पूर्वका ८ कलाकारहरुले पनि सहयोगी मूर्तिकारका रुपमा १८ दिनसम्म भूमिका निर्वाह गरेका थिए । कार्यशालामा सहभागी मूर्तिकार रोजन राईले स्थापित विदेशी तथा स्वदेशी मूर्तिकारहरुसँग १८ दिनसम्म सँगै काम गर्दा धेरै कुराहरु सिक्ने अवसर पाएको बताए । अर्का मूर्तिकार नरेश थुलुङले कार्याशालाले विदेशी तथा स्वदेशी मूर्तिकारहरुसँगको सम्बन्ध विस्तारसँगै देशबीचको कलाको विकास क्रमका बारेमा बुझ्ने अवसर पनि पाएको बताए । 

अर्का मूर्तिकार माधव पौडेलले विदेशी मूर्तिकारहरुसंगै बसेर १८ दिनसम्म काम गर्दा आफूलाई थप खार्ने अवसर मिलेको बताए । स्वतन्त्र भएर खुल्ला स्थानमा आफ्नो अवधारणामा मूर्ति बनाउन पाउँदा बाहिर निस्कन नसकेको आफूभित्रको थप क्षमता बाहिर ल्याउन मूर्तिकला कार्यशाल सफल भएको पौडेलले बताए । कार्यशाला अवधिमा ५६ लाख बढी खर्च भएको थियो । 

कस्को सिर्जना कस्तो ?
चितवनका कलाकार दिपक रसाइलीले निर्माण गरेको मूर्तिमा  देशको भू–दृश्य देख्न सकिन्छ । मुलुकको भौगोलिक सुन्दरता कल्पना गरेर आम नेपालीलाई जिम्मेवारी पनि मूर्तिमार्फत उनले सुम्पिएका छन् । रुपन्देहीका मूर्तिकार बुद्ध थारुले निर्माण गरेको मुर्तिमा आमा र बच्चाको माया झल्किएको छ । आमा र बच्चाको मायालाई उदाहरणका रुपमा दिंदै उनले मायाको महत्व र भाव झल्काउने कोशेली मूर्तिमार्फत छाडेका छन् । भारतका मूर्तिकार अनुपकुमार गुप्ताले निर्माण गरेको मूर्तिमा ग्रीन पीसको भाव देख्न सकिन्छ । भारतीय भएर पनि उनले नेपालको अहिलेको परिस्थितिलाई चित्रण गर्न सफल देखिएका छन् । काठमाण्डौका कलाकार सुदर्शन विक्रम राणाले निर्माण गरेको मूर्तिमा एकता र मित्रताको महत्व झल्किएको छ । चितवनका अर्का मूर्तिकार दिनेश्वर महतोले तयार गरेको मूर्तिमा  प्रकृति र संस्कृतिलाई एकैपटक देख्न सकिन्छ । बाग्लुंगका मूर्तिकार ओम खत्रीले जैविक विविधता र एकता अनि तालहरु समेटिएको दुईवटा ढुङ्गाबाट फरक भाव झल्कने मूर्ति तयार गरेका छन् । उनले निर्माण गरेको मूर्ति हेर्दा हिलोमा फुलेको कमलको महत्व सँगै जीवन र मृत्युलाई पनि कलाबाटै तुलना गर्ने प्रयास गरिएको छ । 

झापाका हिम्मत नेम्वाङले पनि एकता र प्रेममूलक मूर्ति तयार गरेका छन् । इलामका विष्णुप्रसाद श्रेष्ठले एउटै मूर्तिमा पोखरी भित्रबाट उम्रदै गरे पालुवा र वृद्धि अनि विकासको बारेमा जियोमेट्रीकल र अर्गानिक कुरालाई समेटेर प्रकृतिको महत्व झल्काउने मूर्ति तयार गरेका छन् । भोजपुरका नारदमणी हार्ताम्छालीे नेपालका अग्रज मुर्तिकार हुन् । उनले निर्माण गरेको मूर्तिमा आदरभाव झल्कन्छ । नमस्कार आकारमा उनले निर्माण गरेको  मूर्तिमा भौगोलिक सुन्दरता, समुदाय, पुस्तान्तर र बाद, प्रतिवाद अनि सम्वादको भावना झल्किएको छ । चितवनका प्राज्ञ लालकाजी लामाले भौगोलिक एकतालाई जोड दिँदै हिमाल, पहाड र तराईलाई सूत्रबद्ध गर्ने प्रयास गरेका छन् । इलामका विजयकुमार श्रेष्ठले निर्माण गरेको मूर्ति अमूर्त छ । तर, त्यहाँ अन्तर विचारको कारण उब्जने समस्या र समाधानका लागि एकताको आवश्यकतालाई पनि जोड दिइएको छ । 

काठमाण्डौकी सुनिता राणाले जीवको संरक्षणलाई जोड दिने कलाकृति बनाएकी छिन् । सिंगो ढुंगालाई जीवनसँग कलामार्फत तुलना गरिएको छ । 

कलाकार  राजन काफ्लेको मूर्तिमा मायाप्रेम र सरप्राइजको भाव देख्न सकिन्छ । मूर्तिमा घाम छाया, खस्रो मसिनो, सकारात्मक नकारात्मक भावलाई उतार्ने प्रयास गरिएको छ । यस्तै, गंगाधार सारुले आफ्नो मूर्तिकलामा प्रकृतिको सुन्दर शैलीमा चित्रण गरेका छन् । 
 

मोरंग पथरीका मञ्जुल बराइलीले मृत्यु शैयामा पृथ्वी भन्ने शीर्षकमा कृति तयार गरेका छन् । मूर्तिमा युद्ध, वन विनाश, प्रदुषणको चित्रण गरी त्यसको कारक तत्व मानिस नै भएको र मानिसले नै जोगाउन पनि सक्छ भन्ने सन्देश दिइएको छ । 

मलेशियाका मूर्तिकार म्याक्सिनले बनाएको मूर्तिमा महिलाको आकृति देख्न सकिन्छ । मकवानपुरका लक्ष्मण भूजेलको मूर्तिमा पत्रे बीजलाई प्रस्तुत गरी त्यहाँ मानव चित्रण गर्न खोजिएको छ । 
 

गुल्मीका हरिराम अधिकारीले तयार गरेको मूर्तिमा आँसु र हाँसोको सहज मिश्रण गरिएको छ । 
 

इटहरीका प्राज्ञ धनबहादुर याक्खाले तयार गरेको मूर्तिमा प्रकृति र नारीको बारेमा चित्रण गरिएको छ । कलाकार राजु पिठाकोटेले तीनवटा मूर्ति तयार गरी तीन पुस्तालाई सहज रुपमा चित्रण गरेका छन् । मानवचक्र पनि उनको मुर्तिमा पाउन सकिन्छ । चितवनका भीमबहादुर श्रेष्ठ जीवन र जगतका बारेमा पनि मूर्तिमार्फत चित्रण गर्न सफल भएका छन् । 

इजरायलकी ७२ वर्षीया तानिया प्रेमीगंरले ढुंगालाई खोपेर मानवमुटु बनाएकी छिन् । जीवीत झै देखिने मुटु संसारका कुनै पनि कुनामा बस्ने मानिसहरुका लागि उत्तिकै महत्व छ भन्ने सन्देश दिन खोजेकी छिन् ।