काठमाण्डौ । उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्विपक्षिय हितका विषयमा छलफल भएको थियो ।  

भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरेका थिए ।

उनले आफूले उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको जानकारी समेत दिएका थिए । मन्त्री पुनले प्रशारण लाइनको गुरु योजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानिकर्तालाई लगानी गर्न आग्रह समेत गरे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा समेत लगानीको उपयुक्त वातावरण बनेको बताएका थिए । उनले वर्तमान सरकारको नीति लगानीमैत्री वातावरण बनाउने रहेको भन्दै त्यसका लागि नयाँ नीति ल्याउने र केही नीतिमा परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिए ।

भेटमा राजदूत मोरीसले उर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताएका थिए । उनले वैकल्पिक उर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआईडीमार्फत काम भइरहेको जानकारी दिंदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्र्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वयात्मक ढंगले काम गर्न आफूहरु तयार रहेको धारणा समेत राखेका थिए ।