काठमाण्डौ । नेपालको कम्युनिष्ट सरकारले जेष्ठ नागरिकलाई दिन थालेको सामाजिक सुरक्षा भत्ताको प्रभाव भारतका राज्यहरुमा पनि पर्न थालेको छ ।

नेपालमा मनमोहन अधिकारीको पालादेखि नै सुरु जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता(वृद्ध भत्ता) वितरणको प्रभाव नेपालसँग निकट सम्बन्ध राख्ने योगी आदित्यनाथ मुख्यमन्त्री रहेका उत्तरप्रदेश(यूपी)मा समेत परेको छ । 

त्यहाँ केही समयअघिदेखि नै वृद्धहरुलाई राज्य सरकारको तर्फबाट पेन्सनको रुपमा मासिक भत्ता उपलब्ध गराइन थालिएको थियो । नेपाल सरकारले बजेटमार्फत वृद्धभत्तामा १००० रुपैयाँ वृद्धि गरेकै वर्ष यूपी सरकारले समेत वृद्धवृद्धाले पाउँदै आएका पेन्सनभत्ता ४०० भारुबाट बढाएर ५०० भारु पुर्याउने निर्णय गरेको छ । यसलाई एउटा रमाइलो संयोग मान्न सकिन्छ । 

मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा मंगलबार बसेको क्याबिनेट बैठकले वृद्धभत्ता बढाउने निर्णय गरेको भारतीय मिडियाहरुले जनाएका छन् । 

यूपीमा यसअघि ७९ वर्ष माथिका वृद्धवृद्धाहरुलाई मासिक ५०० भारु पेन्सनको रुपमा दिइन्थ्यो । सरकारको नयाँ निर्णयअनुसार अब ६० वर्ष माथिका सबैले मासिक भारु ५०० पाउनेछन् । 

यूपीमा ४१ लाख वृद्धवृद्धाले यस्तो लाभ लिइरहेको बताइएको छ । यूपी सरकारले बढाएको पेन्सन सम्बन्धी व्यवस्था १ जनवरीबाट लागू हुने समाचारमा बताइएको छ ।