काठमाण्डौ । कुनै पनि देशको कुनै कालखण्डको सरकारले लिने जनहितकारी र राम्रो नीतिको प्रभाव सो देशमा वर्षौसम्म रहन्छ । नीति राम्रो भयो भने सम्बन्धित देशमा मात्र होइन, अन्यत्र पनि त्यसको अनुकरण हुन थाल्छ । 

नेपालले वर्षौदेखि लिएको एउटा यस्तै नीतिको सिको भारतका केही राज्यहरुले गर्न थालेका छन् । त्यो हो सामाजिक सुरक्षाभत्ताको स्किम । 

मनमोहन अधिकारीको पालादेखि आएको सामाजिक सुरक्षाभत्ताको प्रभाव छिमेकी भारतका केही राज्यहरुमा समेत पर्न थालेको हो । 

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा समेत जेष्ठ नागरिकहरुलाई बूढेसकालको खर्चका लागि बजेटमै व्यवस्था गरिएपछि भारतभरि चर्चा भइरहेको छ । 

यसअघि भारतको उत्तरप्रदेश राज्य सरकारले त्यहाँ ६० वर्ष माथिको जेष्ठ नागरिकहरुलाई मासिक ५०० सय भारु भत्ता दिने निर्णय गरेको थियो । 

यूपीपछि बिहार राज्य सरकारले समेत त्यहाँका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता(भारतमा यसलाई पेन्सन भनिएको छ) दिने घोषणा गरेको हो । 

बिहारका मुख्यमन्त्री नितिशकुमारले राज्यमा रहेका ६० वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकहरुलाई वृद्धजन पेन्सन योजनाको सुरुवात गरेका भारतीय मिडियाहरुले जनाएका छन् । यो योजनाको सुरुवातसँगै बिहार राज्यले नयाँ इतिहास रचेको समाचारमा जनाइएको छ । 

बिहारले यो वर्षको मार्च १ बाटै यो योजनाको सुरुवात गरेको र त्यसको भुक्तानी भने शुक्रबारबाट सुरु गरिएको नितिशकुमारले बताएका मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

बिहार सरकारले यसअघि गरीबीको रेखामुनि रहेका परिवारका जेष्ठ नागरिकहरुलाई मात्र यो सुविधा दिने गरेको थियो । तर, अब सबैखालका जेष्ठ नागरिक यो सुविधाबाट लाभान्वित हुनेछन् । 

राज्यको यो निर्णयबाट जेष्ठ नागरिकहरुलाई परिवारबाट सम्मान प्राप्त हुने र बूढेसकालमा केही सामान्य आवश्यकता समेत पूरा गर्न मद्धत पुग्ने नितिश कुमारले आशा व्यक्त गरेका छन् । 

बिहारमा यस्तो योजनाको लाभ लिने जेष्ठ नागरिकको संख्या करिब ३६ लाख रहेको अनुमान गरिएको छ । 

यो योजनाका लागि प्रत्येक वर्ष राज्य सरकारको तर्फबाट १८०० करोड बजेट विनियोजन गर्नुपर्नेछ । 

यो योजनामा सहभागी हुनका लागि आवेदन दिनुपर्ने नियम समेत बनाइएको छ । हालसम्म यो योजनामा सहभागी हुन करिब २ लाखको आवेदन परिसकेको बताइएको छ । आवेदकमध्ये १ लाख ३५ हजार ९२८ व्यक्तिको खातामा भत्ता ट्रान्सफर गरिसकिएको छ ।

यो योजना अन्तर्गत ८० वर्ष माथिका जेष्ठ नागरिकले भने मासिक ५०० भारुको दरले भत्ता पाउने समाचारमा बताइएको छ । 

नेपालमा निकै अगाडिबाट सुरु गरिएको सामाजिक सुरक्षाभत्ता अन्तर्गत जेष्ठ नागरिकले मात्र नभई एकल महिला, शारिरीक रुपले अशक्तहरुले समेत सुविधा पाइरहेका छन् । यहाँका जेष्ठ नागरिकले मासिक रुपमा पाउँदै आएका २००० रुपैयाँ भत्तालाई बढाएर सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट रु. ३००० पुर्याइदिएको छ ।