काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने ऋणको ब्याजदर चर्को नभएको जिकिर गरेका छन् । 
उनले लगानीयोग्य रकमको माग उच्च रहेको अवस्थामा बैंकहरुको ब्याजदर चर्को भयो भन्ने विषय सही नभएको तर्क गरेका हुन् । 

बुटवलको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने–‘बैंकको ब्याजदर चर्को भो भनियो, लगानीकर्ताका लागि पूँजी भएन भनियो । अहिले पूँजीबजारमा नयाँ लगानीकर्ताहरुले सुरुको निश्कासनका लागि जति पनि कम्पनी दर्ता भएका छन्, ती कुनै नबिकेको अवस्था छ र ? सबै त ओभरसब्साइक्रब्ड भएको छ । बैंकहरुमा वार्षिक ६ खर्बले निक्षेप बढ्छ, त्यो बढेको निक्षेप लगानी गर्न भ्याई नभ्याई छ । असोज लाग्दा नलाग्दै धेरै बैंकहरुले बचत परिचालन नगरे लगानीयोग्य रकम कम हुँदै जाँदैछ है भनिएको छ । यो संकेत के हो ? शुभ संकेत होइन र ?’

उनले संघीयतामा गएपछि मुलुकमा लगानी विस्तार उत्साहजनक रुपमा हुन थालेको जिकिर समेत गरेका छन् । ‘हाम्रो कुल ग्राहस्थ उत्पादन करिब ३५ खर्ब छ, त्यसको आधा त हामीले लगानी गरेका छौ । अघिल्लो वर्ष १८ खर्ब भन्दा बढी लगानी नै भयो, १० खर्ब बढी स्थिर पूँजी निर्माण भयो । अनि त्यो लगानी नै नभएको हो र ?’ उनले थपे । 

उनले मुलुकमा लगानीयोग्य अवसरहरुको बाढी आएको उल्लेख गर्दै लगानीका त्यस्ता इच्छाहरुको व्यवस्थापन अहिलेको मुख्य चुनौति रहेको दाबी गरे । ‘लगानीको इच्छा यति धेरै आएका छन् कि त्यसलाई व्यवस्थापन गर्न २–३ वटा काम गर्नुपर्नेछ ।’ उनले भने–‘थप पूँजी कसरी जुटाउने, लगानीकर्तालाई उद्योगका लागि जमीन पहिलो शर्त हुन्छ, त्यो जमीन कसरी उपलब्ध गराउने ? र हाम्रा प्रक्रियाहरुलाई कसरी छिटोछरितो र सरल बनाउने भन्ने विषयमा सोच्न आवश्यक छ।’

उनले संघ, प्रदेश र स्थानीय सरकारले एउटै स्रोतलाई बाँडफाँड गर्ने भएकोले निजी क्षेत्रमाथि दोहोरो करको भारि नबोकाउन आग्रह गरे । ‘तीनवटै तह मिलेर औद्योगिक वातावरण बनाउनुपर्छ ।’ उनले थपे–‘समन्वयकारी र परिपूरक भूमिका हुन आवश्यक छ ।’

उनले कुनै पनि तहको सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धी बन्न नहुने तर्क पेश गर्दै भनेका छन्–‘सरकारले निजीक्षेत्रसँग सहकार्य  गर्ने हो, परिपूरक भूमिका हुनुपर्छ, हामीले प्रतिस्पर्धा गर्ने होइन । सरकार प्रतिस्पर्धी बन्न खोज्यो भने निजी क्षेत्र आउँदैन । जहाँ व्यवसायिक रुपमा निजी क्षेत्र आउनसक्छ, व्यवसाय संचालन गर्न सक्छ, त्यहाँ स्वदेशी या विदेशी होस, निजी क्षेत्रलाई नै प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र आउने संभावना नै नभएको ठाउँमा मात्र सरकार जाने हो ।’

उनले प्रदेश र स्थानीय तहका लागि वित्तीय सहकारी संस्थाहरु पनि पूँजी परिचालनका स्रोतहरु हुनसक्ने र यस्ता माध्यमबाट पनि बचत परिचालन गर्न सकिने सुझाव दिए ।

पूँजीको व्यवस्थापन गर्न सकिने, तर सीप र प्रविधिको विषयमा भने तीनै तह मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

उनले देशको संघीय वित्त व्यवस्थापन विश्वमै उदाहरणीय हुने हिसाबले तीव्र गतिमा अगाडि बढेको दाबी गर्दै मुलुकले समाएको बाटो सही र समृद्धिकै बाटो रहेको दाबी समेत गरे । 

डा. खतिवडाले लगानीको वातावरण बोलेर मात्र नबन्ने उल्लेख गर्दै राम्रो काम र राम्रा कानून निर्माण गरी यथार्थवादी हुन सके मात्र त्यस्तो वातावरण बन्ने जिकिर गरे । 

उनले विगत डेढ वर्षसम्म सरकारले निकै धेरै संस्थागत सुधार गरेको दाबी समेत गरे । 

‘लामो समयदेखि नेपालमा औद्योगिक र श्रम सम्बन्ध राम्रो भएन भन्ने थियो ।’ उनले भने–‘तर २ वर्षदेखि यता हड्तालका कारण औद्योगिक वातावरण बिग्रियो भनेर कहीँ सुन्नुभएको छ ? कतै श्रमिक हड्ताल भएको सुनेका छौ र ? विगत २ वर्षमा श्रम सम्बन्ध बिग्रिएर औद्योगिक वातावरण बिग्रेको कहीँ सुन्नुभएको छ र ?’