काठमाण्डौ । महाविनाशकारी भूकम्पले आहात बनेको नेपालमा २०७२ सालमै तीन महिना लामो नाकाबन्दी लगाएको भारतले अहिले पाकिस्तान पनि नाकाबन्दी लगाइरहेको छ ।

भारतको नाकाबन्दीका कारण नेपाली दैनिक दैनिकी कष्टकर बन्दै गएको थियो। यद्यपि नेपालीले नाकाबन्दीको डटेर सामना गरे । 

यस्तै नाकाबन्दी अहिले भारतले पाकिस्तानमा लगाइरहेको छ। भारतको नाकाबन्दीका कारण पाकिस्तानीको जनजीवन कष्टकर बनेको छ। 

भारतले पाकिस्तानलाई भारतमा उत्पादित वस्तुहरु निर्यातमा रोक लगाएको छ। पहिलेबाटै आर्थिक मन्दीको चपेटामा रहेको पाकिस्तानमा भारतको यो कदमले दैनिक उपभोग्य वस्तुहरुको अभावसँगै सञ्चित वस्तुमा चरम मूल्यवृद्धि भएको छ । जसले गर्दा कालोबजारी, माफिया, अखाद्य वस्तु मिसावट गर्नेलाई प्रोत्साहन भइरहेको छ ।

अहिले पाकिस्तानमा खास गरेर भान्सामा अनिवार्य मानिएको गोलभेडाको मूल्यले आकाश छोएको छ । पाकिस्तानमा गोलभेडा प्रतिकेजी ३०० रुपैयाँसम्म पुगेको छ ।

गोलभेडाको मूल्य अचाक्ली बढेपछि आमनागरिकको मागलाई धान्नका लागि पाकिस्तान सरकारले मध्य पूर्वीय देश इरानबाट गोलभेडा आयत गर्ने निर्णय गरेको छ । सरकारले गोलभेडाको मूल्य १८० रुपैयाँ तय गरे पनि मागअनुसार आपूर्ति हुन नसक्दा बजारमा ३०० रुपैयाँसम्ममा आम उपभोक्ताले मूल्य तिर्नुपरिरहेको छ ।

भारत र पाकिस्तानबीच अहिले जम्मु–काश्मीर मामिलाले तनाव सिर्जना भइरहेको छ । छिमेकी मुलुकहरुप्रति भारतको यस्तो रवैयाले अहिले विश्वभर उसको आलोचना भइरहेको छ । –एजेन्सी