काठमाण्डौ । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले नेपाल बंगलादेशबीचको द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध विकासमा दुवै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बङ्गलादेशमा सहुलियतपूर्ण प्रवेशका लागि सहयोग गर्न सकारात्मक रहेको धारणा व्यक्त गरिन । 

साथै दुबै देश बीच सुविधायुक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुबै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेको हुँदा निकट भविष्यमा यो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गर्दै विशेष नेपालबाट बङ्गलादेशमा धागो आयात गर्न समेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासको तर्फबाट पहल गर्ने धारणा व्यक्त गरिन ।

बङ्गलादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–बङ्गलादेश दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिनसक्ने बताए । 

दुई मुलुक छिमेकी राष्ट्र हुन, तापनि यी मुलुकहरु बीच अपेक्षीत मात्रामा व्यापार विस्तार हुन नसकेको बताए । साथै नेपाल र बङ्गलादेशमा हुने मेला तथा प्रदर्शनीले दुबै मुलुकबीचको व्यापार प्रवद्र्धनमा योगदान पुर्याएको बताउँदै यसमा अझ बढी जोड दिनुपर्ने बताए ।

बङ्गलादेशले लघु वित्तमा पाएको सफलताबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए । बिबिआईएन्, डब्लु टी ओ, सार्क, विमिस्टेक जस्ता संगठनमा नेपाल र बङ्गलादेशको साझ मुद्दा भएको र फुलबारी–बङ्गलाबन्द मार्गको बढी प्रयोग भएमा नेपाली माल वस्तुको सहज र सरल पहुँच हुने अध्यक्ष मोरले बताए ।

सो भेटवार्तामा परिसंघका गभर्निङ्ग काउन्सिलका सदस्य, राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो ।