काठमाण्डौ । नेपालका लागि अस्ट्रेलियका राजदूत पिटर ग्रेमी बडले नेपालमा सम्पन्न लगानी सम्मेलनपश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् । उनले साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानुनी प्रावधान भएमा नेपलमा अस्ट्रेलियाको कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा उल्लेख्य लगानी आउने सम्भावना रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राजदूत बडले आफ्नो कार्यकालमा सकेसम्म नेपाल र अस्ट्रेलियाबीच सीधा हवाईसेवा सुरु गर्न आफूले पहल गर्ने पनि बताए । यसका लागि व्यावसायिक निर्णय हुनुपर्नै र हवाई सम्झौता भइसकेको परिप्रेक्षमा सो प्रक्रिया आह्वान गर्न कठिन नहुने उनको भनाइ थियो ।

राजदूत बडले अस्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकका लागि पनि अनुकरणीय भएको उल्लेख गर्दै नेपालमा लगानी तथा व्यापारका लागि कानूनी र असल व्यवसाय मैत्री वातावरण भएमा अस्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताए ।

राजदूत बडसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्वार प्रणाली लागू भएपछि लगानीको सम्भावना बढेको बताए। उनले अस्ट्रेलियाका मुख्य सहरहरु ब्रिसबेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थलगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार तथा मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए।

नेपालले अल्पविकसित मुलुकमै अस्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले नेपाली समुदाय पनि अस्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनलाई समेत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिए।