काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले चीनमा आयोजना भएको डीपेन दि शिल्करोड कोअपरेशन जीनान २०१९ साउथ एशिया एण्ड साउथ इष्ट एशिया इकोनोमी एण्ड ट्रेड फेयर कार्यक्रमलाई हालै चीनको जीनानमा सम्बोधन गरेका छन् ।  

जीनानका मेयर, त्यहाँका वैदेशिक मामिलाका वरिष्ठ अधिकारीहरू, सार्कका उद्यमी व्यवसायी नेताहरू, चिनियाँ उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमलाई  सम्वोधन गर्दै महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले चिनियाँ राष्ट्रपतिको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा सहकार्यका लागि भएका ठोस प्रयासहरू नेपालको विकासका लागि महत्वपूर्ण आधार हुने बताए । ‘सो अनुसार कनेक्टीभिटीमा हामीले सफलता हात पार्न सक्यौ भने नेपालमा चिनियाँ लगानी आकर्षणका साथै नेपाली उत्पादनहरूका लागि विश्वको आधा जनसंख्या वसोवास गर्ने दक्षिण र दक्षिण पूर्वी एशियानै सिंगो बजार हुन सक्नेछ’ विशिष्ट सदस्य ढकालले सो अवसरमा दाबी गरे ।  

सिंगो दक्षिण एशियानै ग्लोवल टे«डिङ र इमर्जिङ क्षेत्रको रूपमा अगाडि बढिरहेको अवस्थामा चीन र दक्षिण एशियाबीच जुन किसिमले सम्बन्ध विकसित भैरहेको उल्लेख गर्दै यसको अधिकतम फाइदा उठाउंदै नेपालमा सूचना प्रविधि, पूर्वाधार विकास (रेल, सडक, हवाई उड्डयन, एयरपोर्ट) मा लगानी गर्न उनले चिनियाँ लगानीकर्ताहरूलाई आव्हान गरे । 

बेल्ट एण्ड रोड इनिसिएटिभ (वीआरआई) अन्तरगत चीनले अहिले नेपालसहित बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, अफगानिस्थान लगायतका देशलाई लिंक रोडको रूपमा अगाडि बढाएको चर्चा गर्दै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा वीआरआई महत्वपूर्ण माध्यम हुन सक्ने ढकालले धारणा राखे । 

बीआरआईको भरपुर उपयोग गरी नेपाली बजारलाई चीनको बजारसम्म जोड्नु पर्ने र यसका लागि चीनले उपलव्ध गराउने भनिएका सुख्खा तथा समुद्री वन्दरगाहको उपयोगमा सहयोग गर्नुपर्ने ढकालले विचार पोखे । ई–कमर्सको भरपुर उपयोगबाट वाह्य संसारले हासिल गरीरहेको लाभमा नेपाललाई पनि जोडन अन्तरसिमा ई–कमर्सलाई बढावा दिनुपर्ने, बीआरआई अन्तरगत अन्तराष्ट्रिय सूचना संजालमा नेपाललाई जोडन सहयोग गर्नुपर्ने, गैर भन्सार अवरोधहरू हटाउनु पर्ने सुझाव उनको थियो । 

नेपाली एयरलाईन्सलाई चीनका विभिन्न महत्वपूर्ण शहरहरूमा उडान अनुमति दिइएपछि नेपालमा चीन तथा चीन भएर आउने पर्यटकहरूको संख्यामा समेत उल्लेख्य वृद्धि हुन सक्ने धारणा राखेका ढकालले यसबाट नेपाली व्यवसायीहरूलाई चीनसँगको व्यापार विस्तारमा समेत सघाउ पुग्न जाने विश्वास व्यक्त गरे । ढकाल भन्छन् –‘यसले सम्भाव्यताका थप नयाँ ढोकाहरू खोल्न जाने हाम्रो विश्वास छ । ’ 

सार्क उद्योग वाणिज्य संघ र वीआरआईजस्ता संस्थाहरूको प्रभावकारी उपयोगमा जोड दिंदै विशिष्ट सदस्य ढकालले सरकार–सरकार(जीटुजी), सरकार–निजी क्षेत्र(जीटुवी) बीचको सम्पर्क विस्तारलाई थप प्रभावकारी बनाउंदै कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानमा अझ बढी सहकार्य गर्नु पर्नेमा ढकालले जोड दिए ।

सोही कार्यक्रमकै शिलशिलामा जीनानको लिनई शहरमा आयोजित अर्कोे कार्यक्रमलाई विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले  सम्बोधन गरे । ४ सय जति प्रतिष्ठित उद्यमी व्यवसायीहरूको सहभागिता रहेको सो कार्यक्रमका २ वटा सत्रलाई विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले सम्बोधन गरे । साउथ एशियाली राष्ट्रहरूको आर्थिक विकासको दर ५ प्रतिशत भन्दा माथि नै रहेको अहिलेको अवस्थामा यो क्षेत्र विश्वकै आकर्षक क्षेत्रको रूपमा अगाडी बढिरहेको ढकालको दावीसमेत छ । नेपालसहित साउथ एशियन मुलुकहरूले पूर्वाधार र औद्योगिकीकरणमा फोकस गरिरहेको यो बेलामा वीआरआई जस्ता फोरमले अझ बढी अवसरहरू जुटाई दिनुपर्ने सुझाएका उनले  यस क्षेत्रका लघु तथा घरेलु उद्योगहरूको क्षमता विकासका लागि प्रविधि हस्तान्तरणलाई केन्द्रमा राख्नुपर्नेमा समेत जोड दिए ।