नेपालमा बीमा बजार परिपक्क र विकास नहुनुमा बीमा साक्षरताको कमीलाई एक महत्वपूर्ण कारण मानिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने बीमा समितिको हालै प्रकाशित तथ्यलाई  हेर्दा आर्थिक वर्ष २०७६/७७ को अषाढ मसान्तसम्म कुल जनसंख्याको २२ प्रतिशत बीमामा पहुँच रहेको छ। यसरी यही तथ्यांकलाई विश्लेषण गर्दा विगतको तुलनामा बीमा दायरा वृद्घि भएसँगै बीमा साक्षरता पनि बढेको मान्न सकिन्छ। 

विसं. २०७२ सालमा आएको महाभूकम्प र अहिलेको विद्यमान स्वास्थ्य समस्याका रुपमा रहेको कोरोना महामारीका कारण विश्व मानव अस्तित्व नै संकटमा रहेको अवस्थामा बीमाबारे नेपालीहरुले सोच्ने विचारमा नै सकरात्मक परिर्वतन आएको देखिन्छ भने बीमामा आकर्षण पनि बढेको पाइन्छ। यद्यपि यस क्षेत्रमा जति विकास हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन। 

विश्वभर नै वित्तीय साक्षरता, बैंकिङ साक्षरता र बीमा साक्षरताबारे निकै चर्चा परिचर्चा हुने गर्दछ। जसमध्ये सबैभन्दा कम वित्तीय साक्षरता रहेको क्षेत्र पनि बीमा साक्षरता नै हो। जुन नेपालको सन्दर्भमा त बीमा क्षेत्रको विकास भएको ७१ वर्षको इतिहास रहे पनि भर्खर बामे सर्दै गरेको बच्चाको अवस्थामा रहेको छ। 

बीमा साक्षरतालाई साधारणतया आम नागरिककले वित्तीय स्रोत–साधनलाई आफ्नो हितका लागि प्रभावकारी रुपमा प्रयोग गर्न सक्ने ज्ञान–सिपलाई परिभाषित गरिएको पाइन्छ। के बीमाको अर्थ बीमालाई  बुझ्न र व्याख्या गर्न सक्नुमात्रै बीमा साक्षरता हो ? कुनै पनि मानिसको बीमा साक्षरता मापन गर्ने हो भने उसले बीमाका बारेमा कति जानकारी हासिल गरेको छ भन्ने कुरा निजले बीमालाई आफ्नो जीवनमा कति हदसम्म लागू गर्न सकेको छ भन्ने कुराले पुष्टि गर्दछ। बीमा साक्षरताले बीमा क्षेत्रमा विश्वासको अभिवृिद्व गर्दछ साथै सहभागितामा समेत वृद्धि गर्न मद्दत गर्दछ। जसले बीमा सेवाहरु, बीमाका प्रोडक्टहरुका बारेमा राम्ररी बुझ्न र उक्त बीमाका योजनाहरुसँग जोडिएका जोखिमहरुको घनत्व र गहिराइको पहिचाहन गरी जोखिम व्यवस्थापनसँगै आर्थिक व्यवस्थापन गर्न सिकाउँदछ। साथै, बीमा कम्पनीहरु र सरोकारवाला निकायहरुमार्फत आम नागरिकको वास्तविक आवश्यकताहरुलाई पहिचाहन गरी उनीहरुलाई बीमाका विभिन्न योजनाहरुलाई परिमार्जन गर्नसमेत बीमा साक्षरताले सहयोग गर्दछ। बीमा एक विश्वास जितेर काम गर्ने क्षेत्र भएकोले पनि समाजका लक्षित वर्ग बालबालिका, महिला, किसान, वृद्ध आदिसँगै आम नागरिकलाई बीमाका बारेमा बुद्धिमतापूर्ण निर्णय लिन सक्ने अवस्थामा पुर्याउन बीमा साक्षरताले मात्र पूरा गर्न सक्दछ।

बीमा साक्षरताको महत्व

बीमा क्षेत्र देशको वित्तीय प्रणालीको एउटा महत्वपूर्ण पाटो हो। वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपूर्ण योगदान गर्न सक्दछन्। वित्तीय रुपमा साक्षर उपभोक्ता नै  तुलनात्मक रुपमा बढी बचत गरी त्यसको सही समयमा सही क्षेत्रमा लगानीका माध्यममार्फत जोखिम हस्तान्तरणसँगै बढी लाभ लिन सकिरहेका हुन्छन्। बीमा अन्य वित्तीय उपकरणभन्दा निकै जटिल वित्तीय उपकरण पनि हो। हरेक क्षेत्रमा सूचना प्रविधिको विकाससँगै एकातर्फ अवसरका ढोका खुल्दै  गएको अवस्था छ भने अर्कोतिर मानवीय जोखिमसँगै प्राकृतिक जोखिमहरु जस्तै– भूकम्प, बाढीपहिरो, जलवायु परिर्वतन, हावाहुरी, खडेरी, चट्याङ, महामारी, घातक रोग, दुर्घटना आदि पनि बढ्दै गइरहेका छन्। यसै सन्दर्भमा मानिसहरुले आफ्नो जीवनको सुरक्षासँगै आफ्नो भौतिक सम्पत्तिको सुरक्षा व्यवस्थापन गर्दै आफ्नो आर्थिक हैसियतअनुसार बीमामा लगानी गरी सम्पूर्ण जोखिमहरु बीमा कम्पनीहरुलाई हस्तान्तरण गरी आनान्दमय र निर्धक जीवन व्यतीत गर्न बीमा क्षेत्रले मात्र पूरा गर्न सक्दछ। 

बीमा साक्षरताले आधुनिक बीमा सेवा सुविधा सरल र कम लागतमा छनोट गर्ने अवसर प्राप्त हुने, उद्योगधन्दा कलकारखानाको विकाससँगै व्यापार तथा वाणिज्य क्षेत्रको विकास हुने, ग्रामीण तथा पिछाडिएका क्षेत्र, वर्ग, समुदाय आदिमा बीमामा पहुँचसँगै गरिबी न्यूनीकरण हुने, कृषि क्षेत्रको व्यावसायीकरण, विविधीकरण गर्दै उत्पादकत्वमा वृद्वि हुने, आम नागरिकको जीवनस्तरमा वृद्धिसँगै आर्थिक र सामाजिक विकास तथा विस्तार हुने, बीमा क्षेत्रमा आम नागरिकको समावेशितासँगै पहुँचमा वृद्धि भई सामाजिक सुरक्षामा सहयोग पुर्याई जोखिम व्यवस्थापनसँगै आर्थिक व्यवस्थापनमा बीमा क्षेत्रको महत्व धेरै रहन्छ। यसर्थ, बीमा साक्षरता आम नागरिकमा हुनु अपरिहार्य छ र सम्बन्धित सबै सरोकारवाला पक्ष यसमा जागरुक पनि हुनुपर्दछ।

नेपालको सन्दर्भमा बीमा साक्षरताको अवस्था र चुनौती

नेपालमा बीमाको विकास अन्य वित्तीय क्षेत्रभन्दा अघि नै भए पनि बीमा साक्षरताको अवस्था धेरै नै पछि रहेको अवस्था छ। नेपालमा जीवन बीमा व्यवसायतर्फ १९ र निर्जीवन बीमातर्फ २० र १ पुनर्बीमा कम्पनीसमेत गरी ७७ जिल्लामा २ हजार ९९७ शाखासहित करिब १० हजारभन्दा बढी प्रत्यक्ष रुपमा कर्मचारीहरु आबद्ध भएका छन्। साथै, बीमा अभिकर्ता ५ लाखभन्दा माथि रहे पनि अपेक्षा गरेअनुरुप बीमा पहुँचसँगै बीमा साक्षरता नभएको मान्न सकिन्छ। हाम्रा छिमेकी राष्ट्रहरुमा नै बीमाको विस्तारलाई प्राथमिकतामा राखेर सरकारले आफ्ना बजेट तथा कार्यक्रममा समावेश गरी बीमा साक्षरतामा ठूलो धनराशि खर्च गरिएको हुन्छ भने नेपालमा भने त्यस्तो अवस्था पाइँदैन। तर पछिल्ला वर्षहरुमा बीमा साक्षरतालाई लिएर नियमनकारी निकाय बीमा समिति, बीमा व्यवसायी, अभिकर्ता, सर्भेयर, तेस्रो पक्ष सहजकर्ता र बीमा दलालहरुको एकीकृत ढंगबाट बीमा साक्षरताका लागि सामूहिक अभियानमा जुटेको अवस्थाले नेपालको बीमा क्षेत्रको सुस्त वृद्धि गतिलाई तोड्दै बीमा क्षेत्रमा नयाँ फड्को मार्न सकिने आशलाग्दा काम पनि भएका छन्। विशेषगरी बीमा समितिले विद्यालयस्तरदेखि विश्वविद्यालय, विभिन्न स्थानीय निकाय जस्तै– गाउँपालिका, नगरपालिकालगायतसँगं समन्वय गरी बीमा जनचेतनामूलक कार्यक्रम बनाई हाल अघि बढेको पाइन्छ। आर्थिक वर्ष २०७६/७७ को बजेटले पनि बीमाको पहुँच विस्तारका लागि बीमा सेवा प्रदायक निकायहरुको संस्थागत प्रणालीगत सुधार, कृषि लघुउम बीमा सेवामा पहँुच र घुम्ती बीमाजस्ता कार्यक्रम समेटिएका छन्। त्यसको सही ढंगबाट कार्यान्वयन भएमा आगामी दिनमा बीमा साक्षरता बढ्ने देखिन्छ।

बीमा साक्षरता एक छरिएको, फराकिलो र प्राविधिक विषयसँग अन्तरसम्बन्धित भएकोले पनि यससँग  पर्याप्त सामग्रीको अभाव, विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा पनि समेट्न नसक्नुजस्ता समस्याले पनि बीमा साक्षरता प्रभावकारी रुपमा बढन नसके हो कि भन्न सकिन्छ। बीमा जानकारी हुँदाहँुदै पनि कतिपय मानिसहरुमा क्षमता भएर पनि क्षमताभन्दा कमको बीमा योजना लिएको पाइन्छ। बीमा प्रोडक्टहरुलाई बिक्री गर्न बीमा कम्पनीहरु विभिन्न व्यतिm, संगठित संस्था, व्यवसायी आदिसँग उपस्थिति भई बीमाका बारेमा आधारभूत कुराहरु र यसका फाइदा तथा बेफाइदा आदि सम्बन्धमा बुझाउने प्रयास गर्दा उनीहरुमार्फत आफ्नो जोखिम हस्तान्तरण र आर्थिक बचत र संरक्षण हुने कुरा नबुझी विभिन्न शंका अनि उपशंकाको दृष्टिले हेर्ने प्रवृत्तिले पनि बीमा साक्षरता बढ्न नसकेको हुन सक्छ। यसर्थ, सचेत पदीय हैसियत र जिम्मेवारी पाएका व्यक्तिहरुमा पनि बीमालाई बुझ्ने प्रयास नगर्नु, जागरुकता गराउन खोज्दा पनि व्यक्तिगत आर्थिक स्वार्थ जोडिएको छ भन्ने भ्रममा परी राम्रोसँग बुझ्न नचाहेर पनि बीमा साक्षरता अपेक्षित रुपमा बढ्न नसकेको हो। नेपालको न्यून आर्थिक अवस्थाले गर्दा अधिकांश नागरिक आफ्नो आधारभूत आवश्यकता पूरा गर्नमा नै केन्द्रित रहेको पाइन्छ। जसले गर्दा बीमालाई आफ्नो प्राथमिकताभन्दा परको विषय मान्ने अवस्था र सोचाइ आम जनमानसमा रहेको छ। 

बीमा साक्षरताका लागि अब के गर्न सकिन्छ ? 

नेपालमा बीमा क्षेत्रले कुल ग्रार्हस्थ उत्पादनमा ३.४७% योगदान र वार्षिक रुपमा रु. १५ अर्बभन्दा कर राज्यलाई प्रदान गर्नु र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारीका अवसर प्रदान गर्नुका साथै प्रकातिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, सम्पति र दायित्वको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमाको महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तर पनि नेपालमा यस क्षेत्रलाई सरकारले आफ्ना बजेट नीति तथा कार्यक्रममा अन्य क्षेत्र जस्तै प्राथमिकतामा राख्ोर अगाडि बढेको पाइँदैन। जसले गर्दा आज बीमा साक्षरताको अवस्था कमजोर रहेको पाइन्छ। यसर्थ, नेपालमा पनि अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासअनुरुप बीमा सेवाको विस्तार गरी आर्थिक, प्रकृतिक, सामाजिक, एवं अन्य कारणबाट उत्पन्न हुने सम्पूर्ण जोखिमलाई बीमाको दायरामा ल्याउने गरी दुर्गम तथा न्यून आय भएका समाजका सबै वर्ग, तह र कारोबारमा बीमाको पहुँच पुर्याएको अवस्थामा मात्र बीमा साक्षरता बढ्न जान्छ। 

जसका लागि राज्यले आफ्ना बीमासँग सम्बन्धित नीतिगत, कानुनी, संस्थागत सुधार गर्दै प्राथमिकताअनुसार कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ। बीमा साक्षरताका लागि विशेषगरी नियमनकारी निकाय बीमा समिति, बीमा व्ययसायी, अभिकर्ता, सर्भेयर, तेस्रो पक्ष सहजकर्ता, स्थानीय निकाय र बीमा दलालहरुको एकीकृत ढगंबाट बीमा साक्षरताका लागि सामूहिक अभियानका कार्यक्रम र रणनीतिका साथ अघि बढ्न सकेको अवस्थामा नेपालको बीमा साक्षरता दरलाई बढाउन सकिन्छ। साथै, विद्यालयदेखि विश्वविद्यालयसम्म बीमा विषयको पाठ्यक्रम समावेश गरी, बीमा जनशक्ति उत्पादन गर्ने एकेडेमी, तालिम केन्द्र, बीमा पूर्वाधार र बैंकिङ क्षेत्रको विकाससँग आबद्ध हुने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गर्न सकिएमा बीमा साक्षरताले गति पाउने अवस्था रहन्छ। 

त्यसैगरी नेपालको संघीय संरचनाअनुरुप गाउँपालिका, नगरपालिका, उपनगरपालिका र महानगरपालिकासँग सहकार्य गरी बीमासम्बन्धी बीमा सचेतना कार्यक्रम र बीमा योजनाहरुका बारेमा  विभिन्न माध्यमबाट प्रचार–प्रसार गरिएको अवस्थामा बीमा जागरुपता बढ्ने गरी गरिएमा बीमा साक्षरता निश्चय पनि अभिवृद्धि हुनेछ। साथै, नयाँ–नयाँ प्रविधिको विकाससँग जोडिएर बीमा कम्पनीले आफ्ना सेवाहरु स्वस्थ प्रतिस्पर्धाका साथ आम जनमानसलाई समेट्ने गरी सबै वर्ग र क्षेत्रको पहुँच तथा आवश्यकतालाई मध्यनजर गरी बीमा प्रोडक्ट तयार गरी विश्वासिलो आधार प्राप्त हुने गरी सेवा प्रदान गर्न सक्नुपर्दछ। यद्यपि बीमा योजनाहरु लिँदा बीमितलाई उसको आवश्यकताअनुरुपको फाइदा पुग्ने गरी बीमा योजनाको उपयोग गर्न सक्ने निर्णय लिन सकेमा मात्र वास्तवमा बीमा साक्षरता भएको मानिन्छ। यसर्थ, यसका लागि सबै सरोकारवाला पक्षहरुको क्षमता वृद्धिसँगै सबैको साथ, सहयोग र सहकार्यमा आ–आफ्नो ठाउँबाट हातेमालो गरी बीमा साक्षरताका लागि लाग्नुपर्ने अवस्था आएको छ।

उपसंहार

नेपालको साक्षरता दरमा वृद्विसँगै बीमा साक्षरतामा पनि वृद्धि भइरहेको छ। तर, बीमा उद्योगको विकासका लागि उत्साहजनक बीमा साक्षरता जति हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। हिजोको बीमा बजार करोडौँबाट खर्बैंको बजारमा पुगिसकेको अवस्थाले पनि नेपालको आर्थिक क्षेत्रमा दिने योगदानको ग्राफ पनि क्रमशः बढ्दै गइरहेको छ। यसर्थ, बीमा क्षेत्रको पेनिट्रेसन र डेन्सिटीमा वृद्धि भएको मान्न सकिन्छ। हिजो बीमा बजार संकुचन दायरामा समिति थियो तर आजको दिनमा बीमाको बजार विश्वव्यापी रुपमा बनि सकेको छ। आज हरेक पत्रपत्रिका, छापा, टेलिभिजन, इन्टरनेट र अन्य विभिन्न पेज आदिमा बीमाका सम्बन्धमा नलेखिका र प्रचार नगरिएका सन्दर्भ नहोला। त्यसैले बीमा साक्षरता बढेर गएको छ। बीमा समितिको असारमसान्तसम्मको तथ्यलाई हेर्दा २७% बीमाको दायरामा वृद्धि भएको देखिन्छ। अझै पनि ७३% बजार हिस्सा र बीमाको दायरामा वृद्धि गर्न बीमा साक्षरताको भूमिका अपरिहार्य देखिन्छ। बीमा क्षेत्रको गुणात्मक वृद्धि र विकासका लागि अब कछुवाको गतिमा घ्रसेर होइन, खरायोको चालमा दौडन सक्ने गरी सबै सरोकारवाला पक्षहरुले आम जनमानसमा बीमालाई स्वतःस्फुर्त ग्रहण गर्ने संस्कारको विकास गरिएमा मात्र बीमा साक्षरताले सार्थकता पाउने छ।

विकसित मुलुकहरुमा प्रत्येक व्यक्तिको जन्मदेखि मृत्युसम्मका हरेक कार्यहरुमा बीमा अनिवार्य गरिएका हुन्छन्। तर, बिडम्वना त्यो नेपालमा हुन सकेको छैन। झनै नेपालजस्तो भौगोलिक र आर्थिक अवस्थाले पछाडि परेको मुलुकमा बीमाका बारेमा अनिवार्य आम नागरिकको आधारभूत आवश्यकताका रुपमा सरकारले बनाउनुपर्दछ। जसले गर्दा नेपाल सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाल’ को दीर्घकालीन लक्ष्यसमेत पूरा भई वित्तीय क्षेत्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा बीमा क्षेत्रले महत्वपूर्ण योगदान गर्न सक्नेछ।

आजका दिनमा बीमा कम्पनीहरु र सरोकारवाला निकाय जसरी बीमका बारेमा जनचेतना र ज्ञान फैलाउँदै हिँडिरहेका छन्, त्यसैगरी आम नागरिकले भोलिका दिनमा आफैँ बीमा कम्पनीहरुका ढोका ढक्ढकाउँदै आउने गरी बीमा साक्षरता हुनुपर्ने आजको आवश्यकता रहेको छ। जसमा बीमा जनचेतनामात्र होइन उसले आफ्नो जीवन र सम्पत्तिको जोखिम हस्तान्तरण गर्ने चेतनासँगै जागरुकता आउनै पर्दछ। जुन हाम्रो सामाजिक संस्कारका रुपमा ग्रहण गर्ने परिपाटी बनाई स्वतःस्फुर्त बीमा गरिने संस्कारको विकास गरी जोखिम व्यवस्थापन गर्दै, आर्थिक भारलाई बीमामार्फत न्यूनीकरण गर्दै, वित्तीय सुरक्षासँगै प्रत्येक व्यक्ति, परिवार, समाज, संगठन र राज्यको सुरक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी भनेको बीमा क्षेत्र रहेको हुनाले आम जनमानसमा अहिलेको विद्यमान परिस्थितिमा बीमा साक्षरता हुनु अपरिहार्य छ। जुन नेपालको बीमा बजारको गुणात्मक विकास र विस्तारका लागि आजको आवश्यकता पनि हो। 

(लेखक राष्ट्रिय बीमा कम्पनी लिमिटेड, विराटनगर शाखामा सहायक व्यवस्थापकका रुपमा कार्यरत छन्।)