काठमाण्डौ । नेपालमै पहिलोपटक आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्स्पो हुने भएको छ । 

मिडिया इन्टरनेशनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोशिएसन लगायतका संस्थाहरुको सहकार्यमा नौलो एक्स्पो हुन लागेको हो । 

देशकै पहिलोपटक आयोजना हुन लागेको बैकिंग एक्स्पोको जानकारी दिने उद्देश्यले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मे नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका उपनिर्देशक विभुप्रसाद अर्यालले देशकै पहिलो मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे । सबै बैंक र तिनीहरुको सेवाको बिषयमा एकैठाउँमा अध्ययन गर्न सकिने हुँदा यसले बैंकिङ सूचना प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

पत्रकार सम्मेलनमा बैंकर्स संघका कार्यसमिति सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रबारे बुझ्न, जान्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि यो महत्वपूर्ण अबसर भएको बताए । उनले बैंकका नयाँ स्कीम एवं नयाँ प्रविधिबारे पनि तीनदिने मेलामा जानकारी गराइने उल्लेख गरे । बैंक, शेयर बजार र बीमाको एकै ठाउँमा सूचना प्राप्ति हुने हुँदा उद्यमशिलतामा लाग्न चाहानेका लागि बैंकिङ एक्स्पो निकै उपयोगी हुने शेरचनको भनाई थियो ।

डेभलपमेन्ट बैंकर्स एशोसियसनका प्रथम उपाध्यक्ष राजेन्द्र पौडेलले बर्तमान अबस्थामा बैंकिङ क्षेत्र नै अर्थतन्त्रको संबाहक भएको भन्दै यस कार्यक्रमले देशमै केही गर्छु भन्नेका लागि धेरै फाइदा पुग्ने बताए । उनले बैंकिङ पहुँच र वित्तीय चेतना अति महत्वपूर्ण भएको भन्दै यसबारे धेरै कुरा जानकारी लिन यो कार्यक्रम सार्थक हुने आशा व्यक्त गरे । 

यस्तै, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रम बैंक र शेयर बजारका नवप्रवेशी तथा पहिला नै आइसकेकाहरुका लागि समेत ज्ञान र जानकारी लिने प्रभावकारी गन्तव्य बन्ने दाब गरे ।

कार्यक्रमका संयोजक एवं मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले म्यानेजमेन्ट, कृषि र पर्यटन अध्ययन गरेका विद्यार्थीका लागि नेपालमै उद्यमी बन्ने अबसर आएको बताए । उनले उद्यमशिलतामा लाग्न चाहाने जोकसैलाई यो कार्यक्रम निकै महत्वपूर्ण हुने दाबी गरे । उनका अनुसार बैंकिङ एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, शेयरसँग सम्बन्धित संस्थाहरु, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरुले सूचनामूलक स्टल राख्ने छन् । 

स्टलबाटै कुनै पनि बैंकको बैंक खाता पनि खोल्न सकिने छ ।  तीन दिने मेलामा ४५ वटा स्टल रहनेछन् ।

नेपालमा क्रियाशिल अन्तराष्ट्रिय वित्तीय संघ संस्था, नेपाल राष्ट्र बैंक, बीमा समिति, बैंकर्स संघ, मर्चेन्ट बैंकर्स एशोसिएशन, नेपाल ब्रोकर एशोसिएसन, डेभलपमेन्ट बैंकर्स एशोसिएशन, वित्त संघ, माइक्रो फाइनान्स एशोसियसन, रेमिटर्स एशोसिएसन तथा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रबक्ताबाट सम्बन्धित वित्तीय क्षेत्रको अबस्थाबारे कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । यसरी प्रस्तुत कार्यपत्रहरु वित्तीय क्षेत्र सुधारका लागि महत्वपूर्ण मार्गदर्शन बन्ने अपेक्षा गरिएको छ । 

आयोजकका अनुसार सूचनामूलक स्टलको साथमा एउटा सभाहल संचालन गरिने छ । जसमा हरेक दिन वित्तीय चेतना अभिवृद्धि, बीमा शिक्षा, उद्यमशिलता जस्ता विषयमा विभिन्न सामग्रीहरु, प्रस्तुत गरिनुका साथै दैनिक रुपमा अन्तरक्रिया कार्यक्रम पनि संचालन गरिनेछ ।