काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपालमै पहिलापटक मल्टी करेन्सी कार्डको सुरुवात गरेको छ । 

भारतको एक्सीस बैंकको सहकार्यमा यो बैंकले देशमै पहिलोपटक मल्टी करेन्सी कार्ड कार्यान्वयनमा ल्याएको हो । 

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सेञ्चुरी बैंकको अत्याधुनिक प्रविधिमा आधारित मल्टी करेन्सी कार्डको भव्य लञ्च गरियो । नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाह, बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठ र एक्सीस बैंक इण्डियाका ग्रुप एक्जुुकेटिभ हेड सिद्धार्थ नाथले संयुक्त रुपमा कार्डको लञ्च गरेका थिए । 

सेञ्चुरीले प्रचलनमा ल्याएको मल्टी करेन्सी कार्डले विदेश जाँदा विश्वका १६ देशमा ती देशहरुको मुद्रा एउटै कार्डमा लोड गरी लैजानसक्ने सुविधा दिनेछ । यसबाट नगद विदेशी मुद्राको अभाव झेलिरहेका ग्राहकहरुलाई राहात मिल्ने र अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिम समेत न्यूनिकरण हुने बैंकले दाबी गरेको छ । 

सेञ्चुरीले सोही कार्यक्रममार्फत एक्सीस बैंकसँगको सहकार्यमा इण्डो नेपाल इजी रेमिटको समेत सुरुवात गरेको छ । यो सेवासँगै भारतमा रहेका नेपालीहरुले एक्सीस बैंकका भारतभर छरिएर रहेका ३५०० शाखा कार्यालयहरुबाट सहजै नेपाल पैसा पठाउन सक्नेछन् । यसले भारतबाट औपचारिक माध्यम हुँदै रेमिटान्स नेपाल भित्रिन सहयोग पुुग्ने विश्वास गरिएको छ । 

यसैगरी, बैंकले मोवाइल बैकिङ र डिजिटल कारोबारलाई बढावा दिने उद्देश्यले आफ्नै मोवाइल एप्सको समेत सुरुवात गरेको छ । यसबाट ग्राहकहरुले आफ्नो मोवाइलबाट रकम भुक्तानी ट्रान्सफर तथा युटिलिटी बिलका साथै बैंकमा आबद्ध विभिन्न भेण्डरहरुको भुक्तानी गर्न सक्नेछन् ।

कसले के भन्यो ? 
सेञ्चुरी बैंकका नवीनतम ३ प्रोडक्ट लञ्चका लागि आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाल राष्टबैंकका डेपुटी गभर्नर बैंकिंग क्षेत्रमा समेत डिजिटल युुगको सुरुवात भइसकेकाले सेञ्चुरीका नयाँ प्रोडक्टले डिजिटल इकोनोमीलाई बढावा दिने बताए । उनले डिजिटलाइजेसनसँगै साइबर अपराधका घटना समेत बढिरहेकोले सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै एक्सीस बैंक इण्डियाका सिद्धार्थ नाथले नेपालमा सेञ्चुरी बैंक आफूहरुको पहिलो सहयात्री बनेकोमा खुशी व्यक्त गरे । उनले नेपालसँग हुने व्यापार र गैरव्यापारमा यो सम्झौताले सहयोग गर्ने र डिजिटल कारोबारलाई बढावा दिने विश्वास व्यक्त गरे । एक्सीस बैंकले गर्ने कुल कारोबारमध्ये ७० प्रतिशत डिजिटल कारोबार हुने गरेको उल्लेख गर्दै नेपालले समेत डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिनुपर्ने उनको सुुझाव थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले सेञ्चुरीको मल्टी करेन्सी कार्डले विदेश जानेको मात्र नभई देशको घाटा समेत कम गर्ने दाबी गरे । सेञ्चुरीको नवीन सुविधा विभिन्न देश घुम्न चाहने यात्रीहरुका लागि वरदान सावित हुने उनको भनाई थियो । 

बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले आफूहरुले देशमै पहिलोपटक ल्याएको नवीन प्रोडक्टले बैंकहरुको कार्ड विजिनेशमा क्रान्ति ल्याउने दाबी गरे । उनले सेञ्चुरी बैंकले निकट भविष्यमै १०० वटा शाखाबाट सेवा प्रवाह गर्ने जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकको कामु सीइओ जीवन भट्टराईले मोवाइल एप्स, मल्टी करेन्सी फोरेक्स कार्ड लगायतका नयाँ प्रोडक्ट लञ्च गरी आफूहरुले डिजिटल कारोबारमा जोड दिएको प्रष्ट्याए । उनले सो क्रममा बैंकको मोवाइल एप्सको उपयोगिता, मल्टी करेन्सी कार्डको विशेषता लगायतको बिषयमा चर्चा गरेका थिए । 

यो बैंकले चाँडै नै २ वटा थप बित्तीय संस्थाहरुसँग एकीकृत कारोबारको तयारी गरिरहेको छ भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस सेयर जारी गरी ८ अर्बको पुँजी पुर्याउनेछ।