नेपाली विद्यार्थीहरूको एउटा प्रमुख गन्तव्य रहेको अस्ट्रेलियाले नेपालसँग सीधा हवाई उडान सुरु गर्न लागेको घोषणा गरेको छ।

अस्ट्रेलियाका उपप्रधानमन्त्री तथा यातायतमन्त्री माइकल म्याकोरम्याकको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै दुई देशबीच भएको हवाई सेवासम्बन्धी सम्झौताअनुसार सीधा उडान सुरु गर्ने योजना अघि बढाइएको जनाएको हो।

नेपालका वायुसेवा प्रदायकलाई पनि आफ्नो देशमा उडान गर्न दिने घोषणा अस्ट्रेलियाले गरेको छ।

दुई देशबीचको सीधा हवाई सम्पर्कले पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा थप अवसरहरू निम्त्याउने अपेक्षा अस्ट्रेलियाको सरकारले गरेको छ।

अस्ट्रेलियाका उपप्रधानमन्त्री म्याकोरम्याकले सीधा उडान गर्न सकिने क्षेत्रमा भए पनि प्रत्यक्ष हवाई सम्पर्क सञ्जालमा नजोडिएको अस्ट्रेलियाको सबैभन्दा ठूलो बजार नेपाल भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

"यसले अस्ट्रेलियालीहरूलाई विश्वको अभूतपूर्व स्थानको भ्रमण गर्न सजिलो मात्र बनाउने छैन यसले हाम्रो हवाई उद्योग र निजी विमानसेवा प्रदायक साझेदारहरूलाई एउटा नयाँ बजार र अवसर उपलब्ध गराउनेछ।"

उक्त सहमतिअनुसार अस्ट्रेलियाली वायुसेवाले काठमाण्डूमा हप्ताको सातवटासम्म सीधा उडान भर्न पाउनेछ।

त्यसबाहेक नेपालमा रहेका अरू विमानस्थलमा उसले २८ वटासम्म उडान गर्न पाउने भनिएको छ।

नेपाली विमानसेवाहरूले पनि त्यस्तै अवसर पाउनेछन्।

उनीहरूले सिड्नी, मेल्बर्न, ब्रिस्बेन र पर्थमा एक हप्तामा सातवटासम्म उडान गर्न पाउने भनिएको छ।

त्यसबाहेक अस्ट्रेलियाका अरू क्षेत्रीय विमानस्थलमा असीमित उडान गर्न सक्ने जनाइएको छ।

क्यानडामा गत अगस्ट महिनामा भएको अन्तर्राष्ट्रिय उड्ययन प्राधिकरण आईकाओको महासभामा भाग लिन गएका नेपाली र अस्ट्रेलियाली अधिकारीहरूले यस विषयमा एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

पर्यटन मन्त्रालयअन्तर्गत रहेको हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षण महाशाखाका प्रमुख सहसचिव बुद्धिसागर लामिछानेले उक्त सम्झौताले नयाँ अवसरको ढोका खोलेको बताए।

उनले भने, "सम्झौताअनुसार अस्ट्रेलियाका विमानसेवाहरू यहाँ आउनसक्छन् र हाम्रा निजी र सार्वजनिक वायुसेवा पनि त्यहाँ जान सक्छन्। हामीले हाम्रो क्षमता विस्तार गर्न सक्यौँ भने यसबाट फाइदा लिन सक्छौँ।"

उनले नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा मात्रै विमानहरू रहेकाले तत्कालै नेपाली वायुसेवाले अस्ट्रेलियाको उडान थाल्ने अवस्था भने नरहेको बताए।

उनले भने, "अहिले विद्यमान गन्तव्यहरूलाई हामी छाड्न सक्दैनौँ। त्यसमाथि भर्खरै जापानमा पनि उडान थालेका छौँ। त्यही भएर अहिले नै अस्ट्रेलियामा सीधा उडान सुरु गर्ने सामर्थ्य हामीसँग छैन। तर क्षमता वृद्धि गर्न सक्यौँ भने हामीले यसबाट फाइदा लिन सक्छौँ।"

सीधा हवाईसेवा सञ्चालन हुँदा नेपालबाट लगभग ११ घण्टामा अस्ट्रेलिया पुग्न सकिने सहसचिव लामिछानेले बताए।

अस्ट्रेलियाका सङ्घीय पर्यटनमन्त्री सिमन बर्मिङ्गमले नयाँ कदमले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने बताएका छन्।

अस्ट्रेलियाको सरकारले नेपालमा जन्मेका ५० हजारभन्दा बढी मानिस अहिले अस्ट्रेलियामा बसिरहेको जनाएको छ।

त्यसबाहेक ५२ हजार थप नेपाली विद्यार्थीले अस्ट्रेलियामा अध्ययन गरिरहेका छन्।

नेपाल र अस्ट्रेलियाबीच पर्यटन क्षेत्रमा पनि हालैका वर्षमा साझेदारी बढ्दै गएको विभिन्न तथ्याङ्कहरूले देखाएका छन्।

पोहोर झन्डै ३२ हजार नेपालीले पर्यटकका रूपमा अस्ट्रेलिया गएका थिए।

सो अवधिमा झन्डै ३१ हजार अस्ट्रेलियालीहरू नेपाल आएका थिए।

युरोपेली उड्ययन नियामक निकायको कालोसूचीमा रहेका हुनाले नेपाली विमानहरूले युरोपमा उडान गर्न पाएका छैनन्।

यसो अवस्थामा नेपाली विमानसेवालाई पनि आफ्ना विमानस्थलमा सीधा पहुँच दिने अस्ट्रेलिया सरकारको यो निर्णयले नेपालको उड्ययन क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने जानकारहरू बताउँछन्।

-बीबीसीबाट