काठमाण्डौ ।  चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किन सीमामा पुगेका थिए । तर सधैंजसो उनले त्यो सीमा पार गर्न पाएनन्। 

बिहान ९ बजेतिर पुग्दा साउदी बोर्डर बनद भइसकेछ,’ उनले भने,‘पुलिसले जान पाइँदैन मात्र भन्यो।’  कतारबाट खाडीका अन्य देशमा जमिनबाट जान आउन यो एउटै मात्र सीमा नाका हो।

त्यसरी फर्किने उनी एक्ला थिएनन्। कतारमै कम्पनी भएकाहरु आफ्ना क्याम्प फर्के। साउदी, कुवेत, यूएई र बहराइनबाट आउनेहरु बोर्डरछेउ गाडी रोकेर बसेका छन्। उनले भने, ‘उता चार मुलुकबाट सामान लिएर आएका साथीहरु पनि साउदीतर्फको बोर्डरमा अड्किएका छन्।’

उनले कम्पनीमा फोन गरेपछि मत्रै साउदी अरबलगायत सात देशले कतारसँगको कुटनीतिक सम्बन्ध बिच्चेद गरेको सूचना पाएका थिए।

आतंकवादलाई सघाएको भन्दै छिमेकी मूलुकले कतारसँगको सम्बन्धविच्छेद गरेपछि त्यहाँ स्थिति झनै खराब त हुने होइन भन्नेमा नेपाली कामदार चिन्तित छन् ।

‘हाम्रो रोजगारीको भविष्य र दैनिक जीवन के हुन्छ ?’ उनले भने, ‘हामी त अन्यौलमा छौं ।’

कतारमा झण्डै चार लाख नेपाली विभिन्न सेवामा कार्यरत छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ।