काठमाडौं । नेपालमै पहिलो पटक युवा इञ्जिनियरहरुको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ । 

चार जना नेपाली युवाको दुई वर्षको प्रयासपछि बनाउन सफल भएको ह्विलचियरको सोमबार राजधानीमा एक कार्यक्रमबीच अर्थराज्यमन्त्री उदयशम्सेर राणा र मह जोडीलगायतले संयुक्त रुपमा सार्वजनिक गरे । 

हालसम्म विदेशबाट मात्रै ह्विलचियर आयात गरिरहेकोमा नेपाली युवाहरुले नै स्मार्ट ह्विलचियर बनाई सार्वजनिक गरेका हुन् ।

नेपाली समाजका समस्या इञ्जिनियर प्वाइन्टबाट समाधान गर्न स्थापित इन्फिनिटी ल्याब नामक अनुसन्धानमूूलक संस्थाका युवा इञ्जिनियरहरुको अगुवाईमा ह्विचियर बनाइएको हो । निर्माण सामाग्रीको उत्पादन गर्दै आएको गोर्खा इको प्यानलले उपलब्ध गराएको वर्कसप सहयागेबाट उनीहरु ह्विलचियर बनाउन सफल भएका हुन् । 

इन्फिनिटी ल्याबका अध्यक्ष सुनिल परियारले हाललाई नमूनाको रुपमा एउटा मात्रै ह्विलचियर बनाएको जनाए । कसैको सहयोग पाए व्यवसायिक रुपमा बनाइ बिक्रीवितरण गर्ने योजना रहेको उनले सुनाए । यो ह्विलचियरमा बसेर गएका कोही पनि व्यक्ति दुर्घटनामा परे घरका परिवारलाई मोवाइलमा एसएमएस जानेसमेत सुविधा भएकोले यो ह्विलचियर स्मार्ट रहेको उनले सुनाए । 

यो ह्विल चियर नेपालको माटो सुहाउँंदो रहेको उनले बताए । उनका अनुसार विदेशको कहीँकतै नबिग्रेको कालोपत्रे बाटोमा मात्रै नभई नेपालकै खाल्डाखुल्डीयुक्त बाटोमा पनि सजिलै गुडाउन सकिने यो गुणस्तरीय ह्विल चियर हो । यो नेपालमै मर्मत सम्भार गर्न सकिने, सस्तोसमेत रहेको उनले जनाए । साथसाथै यसमा ह्विलचियरमा बस्ने अशक्त व्यक्तिको पिसाब राख्ने व्यवस्था पनि रहेको जनाइएको छ । 

कार्यक्रममा अर्थराज्यमन्त्री राणाले नेपाली युवाको सम्मान गर्दै यसमा सरकारले पनि सहयोग गर्ने वचन दिए । यसका लागि आवश्यक कच्चा पदार्थको भन्सार छुट गरिदिन पहल गर्ने उनले उनको आश्वासन थियो । 

महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाली युवा इञ्जिनियरहरु नेपालमै राखेर काम गराउने वातावरण आवश्यक भएको खाँंचो औंल्याए । पुल्चोक इन्जिनियर क्याम्पसका प्रा.डा. भरत शर्माले अपांगमैत्री बाटोको आवश्यकतामा जोड दिए । 

गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले सामाजिक उतरदायित्व अन्तर्गत नेपाली युवा इञ्जिनियरलाई प्रोत्साहन गर्न आफूहरुले सहयोग गरेको बताए ।