-तुलसी उप्रेती
हङकङ । चीनले दक्षिण एशिया र अन्य मुलुकसँग सम्बन्ध बिस्तारमा निकै धेरै जोड दिंदै आएको छ । यही क्रममा उसले वान बेल्ट वान रोडको रणनीतिलाई अगाडि बढाउँदै आएको छ । 

यही नीति अन्तरगत चीनको गोन्जाहु सहरमा व्यापार प्रबद्र्धनका निम्ति चीनले सम्बन्धित मुलुकका व्यापारिक संघ र संगठनलाई मासिक एक डलर भाडामा कार्यालय स्थापनाका लागि एउटा फ्ल्याट दिने गरेको छ । 

सोही क्रममा नेपालले समेत सो अवसर पाएको छ । नेपाली उत्पादन चीन र चीनका उत्पादन नेपालमा ल्याउने उद्देश्यसाथ हङकङ नेपाली व्यापार संघ लिमिटेडले गोन्जाहुमा कार्यालय स्थापना गरेको छ ।

यसको मुख्य उद्देश्य चिनियाँ लगानी नेपाल भित्राउने र नेपालको उत्पादन चीनको बजारमा पुराउने रहेको गैर आवासीय नेपाल संघ हङकङकी अध्यक्ष टिका गुरुङले बताइन् ।

चीन–नेपाल संयुक्त व्यापारीक र वित्तिय सहकार्य, कार्यक्रम पनि हुने बताइएको छ । कार्यालय स्थापनापछि चिनियाँ कम्पनी र विभिन्न निकायका अधिकारीले पनि नेपालसँगको व्यापारिक सम्बन्ध बलियो बनाउने बताएका छन् ।

ओबीओर युरेसीया सेन्टरका अध्यक्ष होमर यु एमएचले नेपालसँगको व्यापारिक सम्बन्ध अझ बलियो बनाउँदै लगानीका लागि इच्छुक रहेको बताए । उनले नेपाली उत्पादन चिनियाँ बजारमा सोचेभन्दा राम्रोसँग प्रबद्र्धनमा कार्यालयले मद्दत हुने बताए ।

चिनियाँ कम्पनी लेमाई ग्रुपका अध्यक्ष ग्योकिरेनले व्यापार संघले थालेको वित्तिय यात्राले नेपाललाई सहयोग र चीनलाई लगानीको ठाउँ मिल्ने बताए ।

नेपाले चीनबाट व्यापारीक साझेदारी गर्ने सम्झौता गरेर प्रधानमन्त्री केपी शर्मा ओली फर्किनासाथ गुन्जाहोबाट चिनियाँ निजी र सरकारी लगानीकर्ता नेपाली व्यापारिक निकायसँग साझेदारीका लागि उत्सुक देखिएका हुन् । सो क्रममा चीनको हुआङपु जिल्लाकी सीसीपिआइटी क्यु झी याङको पनि सहभागीता रहेको थियो ।

व्यापार संघका अध्यक्ष प्रकाश पुनःले नेपालमा छाला जुत्तालगायतका उद्योग स्थापनामात्र नभएर चिनियाँ लगानीको सुरुआत भएको बताए । उनले नेपालका औद्योगिक करिडोरमा चीनका लगानी भित्राउनका लागि संघ सँधै सक्रिय रहने बताउँदै थपे,‘नेपाल सरकारले थालेको चीनसँगको व्यापारीक सम्बन्धलाई एउटा इटा थप्ने काममा संघ पनि सक्रिय हुनेछ ।’ उनले लगानीका विविध क्षेत्र खुला रहेका कारण चीनले दिएको अवसर र महत्वप्रति कृतज्ञता देखाए । कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत दिपक बन्जाडेको पनि सहभागीता रहेको थियो ।

चिनियाँ लगानीकर्ता नेपाल सरकारले तय गरेको आर्थिक क्षेत्रमा लागनी बढाउन इच्छुक देखिएका हुन् । यी क्षेत्रमा संघले चीनका सोलार प्यानल, भवन निर्माणका पदार्थ उत्पादन, गार्मेन्टस् र छाला जुत्ता तथा चप्पलका कारखानाका लागि लगानी भित्राउने लक्ष्य राखेको छ । नेपालका तर्फबाट चीनले दिएको अवसरलाई प्रयोग गर्ने संघ पहिलो नेपाली संस्था हो ।