-सुदर्शन रेग्मी
काठमाण्डौ । नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच सम्झौता भएको छ । 

यो सम्झौतासँगै अब नेपाली कामदार जापान जाने बाटो खुलेको छ । 

होटल हिमालयमा एक समारोहका बीच नेपाल र जापानका उच्च सरकारी अधिकारीहरुबीच कामदार लैजाने विषयमा सम्झौता भएको हो । 

यो सम्झौतासँगै सरकारी संयन्त्रमार्फत आउँदो अप्रिल महिनादेखि जापानले लैजाने कामदारको छनौट प्रक्रिया सुरु हुनेछ ।

जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजान चाहेको छ । जापानले चीन, फिलिपिन्स, थाइल्याण्ड, म्यानमारसँगै नेपालबाट समेत कामदार लैजान चाहेको हो ।

श्रम मन्त्रालयका अनुसार जापानले नेपालबाट दक्ष र अदक्ष दुवै खालका कामदार लैजानेछ ।

मन्त्रालयका एक अधिकारीका अनुसार जापानमा कामदार पठाउनका लागि एउटै छुट्टै संयन्त्र बन्नेछ । उनका अनुसार नेपाली नागरिकहरू वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न श्रमिक आपूर्ति प्रक्रियामा तेस्रो पक्षलाई संलग्न नगराइने सहमति जापानी पक्षसँग भएको छ।

सहमति भएका विषयलाई कार्यान्वयनमा ल्याउन एउटा प्राविधिक टोली गठन गरिनेछ । जापान जाने नेपाली कामदारको मासिक तलब ३ लाख रुपैयाँसम्म हुनेछ ।

सो टोलीले जापानले नेपालबाट वार्षिक लैजाने श्रमिकको सङ्ख्या र कामदारको लागत खर्चजस्ता विषय टुङ्ग्याउनेछ।

विदेशी कामदारहरुलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले डिसेम्बर महिनामा नै पारित गरेको थियो।

जापान रोजगारी सम्झौताका लागि गत साता बसेको नेपालको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई अख्तियारी दिने निर्णय गरेको थियो।

श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार जापानमा रोजगारीमा जान एनफोर भाषा परीक्षा उत्तीर्ण हुनुपर्छ।

अर्थात् जापानी भाषा राम्ररी बोल्न र पढ्नसक्ने हुनुपर्छ।

गत अक्टोबर महिनामा सार्वजनिक गरिएको चुओ युनिभर्सिटी र पर्सोल रिसर्च एन्ड कन्सल्टिङले संयुक्त रूपमा गरेको एउटा सर्वेक्षणमा जापानमा सन् २०३० भित्रमा ६४ लाखभन्दा बढी कामदारको अभाव हुने देखिएको थियो।

जापानको श्रम मन्त्रालयका अनुसार २०१७ जापानमा झन्डै १२ लाख कामदारको अभाव भएको थियो।

पाका उमेरका मानिसको संख्या बढिरहेको जापानमा बाह्य कामदारको आवश्यकता भएको देखिएको छ।