काठमाण्डौ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा बुधबार २५० जनाका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि खुलातर्फ १३१ र अन्य समावेशीतर्फ ११९ जनाका लागि दरखास्त आह्वान गरेको छ । समावेशीतर्फ महिलाका लागि २२, आदिवासी जनजातिका लागि २६, मधेसीका लागि ३१, दलितका लागि १७, पिछडिएको क्षेत्रका लागि ६ र सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ७ वटा कोटा छुट्याइएको छ ।

दरखास्त भदौ ४ गतेबाट नै खुला गरिएको छ भने असोज २ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ । दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म पनि दरखास्त दिन सकिने छ ।

दरखास्त दिनका लागि उम्मेदवारले कम्तीमा प्रमाणपत्र तह वा सो सरह÷स्नातक तह वा सो सहर उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रमाणपत्र तह उत्तीर्ण गरेकाको उमेरको हद भने १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै स्नातक तह उत्तीर्ण उम्मेदवारको हकमा भने १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।

उम्मेदवार आफ्नो दरखास्त काठमाडौँस्थित भर्ना छनोट निर्देशनालय, इटहरीस्थित जंगी हड्डा, पूर्वी पृतना हे.क्वा., धनुषास्थित मध्य पूर्वी पृतना हे.क्वा., हेटौँडास्थित मध्य पृतना हे.क्वा., पोखरास्थित पश्चिम पृतना हे.क्वा., रुपन्देहीस्थित मध्यपश्चिम पृतना हे.क्वा., सुर्खेतस्थित उत्तरपश्चिम पृतना हे.क्वा.र दिपायलस्थित सुदूरपश्चिम पृतना हे.क्वा.मा बुझाउन सक्नेछन् ।