काठमाण्डौ । नेपाल–चीन गैह्र सरकारी सहयोग मंचको तयारी बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

आगामी वर्षको सेप्टेम्वरमा चीनको सिचुवानमा आयोजना हुने नेपाल–चीन गैह्र सरकारी सहयोग मंचको तयारी बैठक आज नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा सम्पन्न भयो । 

बैठकमा नेपाल पक्षको नेतृत्व मंचका सह–अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले र चिनियाँ पक्षको नेतृत्व अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सिचुवान प्रान्तीय उद्योग वाणिज्य महासंघका अध्यक्ष छन् फाङले गरेका थिए । 

सोही बैठकमा भाग लिनेक्रममा अध्यक्ष छन् फाङको नेतृत्वमा सिचुवानको व्यवसायिक प्रतिनिधिमण्डल महासंघ सचिवालय आएको हो ।
बैठकमा मंचको १५ औं बैठक आगामी सन् २०२० को सेप्टेम्वर अन्तिम साता सिचुवानमा आयोजना हुने वेष्टर्न चाइना अन्तराष्ट्रिय मेलाको अवसर पारेर सिचुवानमा राख्ने सहमति भएको छ ।  

व्यापार प्रवद्र्धन, लगानी आकर्षण, पर्यटन तथा साँस्कृतिक आदानप्रदान तथा दुवै देशका गैह्र सरकारी क्षेत्र बीच हुने अन्य आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको संयुक्त पहलमा सन् १९९६ अप्रिलमा मंचको स्थापना गरिएको हो । मंचको बैठक दुवै देशमा पालैपालो हुंदै आएको छ । मंचको स्थापना पश्चात बैकिङ, पर्यटन, नीति निर्माण तथा सूचना आदान प्रदान, व्यापार सहजीकरण, व्यापार प्रवद्र्धन लगायतका क्षेत्रमा निकै धेरै सफलता हासिल भएको छ । 

मंचको आगामी बैठकमा चीनले अगाडि सारेको एक क्षेत्र एक सडक अन्तरगत पर्यटन, कृषि, उर्जा, पूर्वाध्ँँर निर्माण, मानव संसाधन विकाससहित अन्य महत्वपूर्ण क्षेत्रमा सहयोग सहकार्यमा छलफल हुने समेत बैठकले तय गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी र महामहिम चिनियाँ राष्ट्रपतिबाट हालै सम्पन्न आपसी भ्रमणबाट दुई देश बीचको सम्बन्धले नयां उचाई हासिल गर्नुका साथै महासंघ र एसीएफआईसी बीचको सम्बन्ध अझ परिणामदायी भएको विश्लेषण बैठकले गरेको छ । 

बैठकमा मंचका माध्यममार्फत निकै धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मंचका माध्यमबाट नेपालमा चिनियाँ लगानी, प्रविधि, सीप र चिनियाँ विकास मोडल आकर्षित गर्न सहकार्यलाई अझ बढी घनीभूत ढंगले अगाडि बढाउन पर्नेमा समेत दुवै पक्षबाट जोड दिइएको छ । 
बैठकमा सिचुवान प्रनिधिमिण्डलका तर्फबाट नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने र अहिले पनि सिचुवानबाट नेपालको पर्यटन, कृषि, उर्जा, पूर्वाधार विकासमा सबैभन्दा बढी लगानी आइरहेको र नेपालमा लगानीका अवसर तथा प्रक्रियाका विषयमा चिनियाँ लगानीकर्ताहरू समक्ष पर्याप्त जानकारी पुग्न सकेमा अझै बढी लगानी आउने धारणा समेत राखिएको थियो । 

बैठकमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, नेपाल–चीन गैह्र सरकारी सहयोग मंचका महासंघ तर्फका सदस्यहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा, होटल व्यवसायीहरू, चिनिया प्रतिनिधिमण्डलका सदस्यहरू, नेपाली उद्यमी व्यवसायीहरू र महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।