काठमाण्डौ ।  सरकारले खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले खाडीमा रहेका नेपाली राजदूतसँग त्यहाँको पछिल्लो घटनाक्रमबारे नियमित सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

अहिलेसम्म नेपालीलाई कुनै समस्या आउने अवस्था नरहेको राजदूतहरूले अवगत गराएको उहाँले बताउनुभयो । ‘कतारमा चार लाखभन्दा बढी नेपाली छन् । उनीहरूलाई कुनै मानवीय संकट आइपर्न सक्छ । त्यसैले यसबारे हामीले त्यहाँस्थित राजदूतलाई नियमित रूपमा जानकारी गराउन र सतर्क रहन भनेका छौं । खाडीस्थित सबै दूतावाससँग हामी सम्पर्कमा छौं’, उहाँले भन्नुभयो । कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा अन्य खाडी देशले गरेपछि त्यहाँ हाहाकार हुन सक्ने र त्यसले मानवीय संकट उन्पन्न हुन सक्ने हुँदा त्यसप्रति सचेत रहन परराष्ट्रले दूतावासलाई भनेको छ ।

खाडी क्षेत्रको परिस्थिति बुझ्न र त्यसबारे मन्त्रालयलाई जानकारी गराउन परराष्ट्रले खाडीस्थित सबै नेपाली दूतावासलाई सोमबारै निर्देशन दिएको छ । साउदी अरेबिया, कुवेत, युएई, इजिप्ट, बहराइन तथा यमनमा ठूलो संख्यामा नेपाली छन् । कतारमा रंगशालालगायत पूर्वाधार विकासका परियोजना निर्माणमा नेपाली कार्यरत छन्।

कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै ऊसँग साउदी अरेबिया, इजिप्ट, युएई, बहराइनलगायत मुलुकले कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेसँगै खाडी क्षेत्रमा संकट आउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कतार खाडी क्षेत्र सानो तर समृद्ध मुलुक मानिन्छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ।