काठमाण्डौ । आफ्नो नाममा भएको अचल सम्पत्ति बिक्री गरेर उच्च नाफा भएको देखाउने गरेको आरोप खेपेको नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ती सबै  आरोपहरुको खण्डन गर्दै व्यवसाय गरेरै राम्रो नाफा आर्जन गरेको छ । यहीकारण बैंकको खूद नाफा अघिल्लो आर्थिक  वर्षको सोही अवधिको तुलनामा झिनौ नै सही, बढेको छ । 

बैंकको खूद नाफा २.०६ प्रतिशतले बढेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ५१ करोड नाफा आर्जन गरेकोमा यो वर्षको सोही अवधिमा २ अर्ब ५६ करोड नाफा कमाएको हो ।

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ अर्ब ७ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष ४ अर्ब ५९ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा यो बैंकले ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी ७९ अर्ब ७० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८३ अर्ब ९५ करोड निक्षेप संकलन गरी ७४ अर्ब २० करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले रिजर्ब कोषमा कमालको प्रगति गरेको छ । अघिल्लो वर्ष कोषमा २ अर्ब ७६ करोड रहेकोमा बढेर यो वर्ष ५ अर्ब ९७ करोडको उचाईमा पुगेको हो ।

बैंकको संचालन नाफा समेत करिब ४२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ अर्ब २० करोड रहेको यस्तो नाफा बढेर यो वर्ष ३ अर्ब ११ करोडको उचाईमा पुगेको हो ।

बैंकका अधिकांश सूचक उत्साहप्रद रहे पनि चुनौतिको रुपमा रहेको खराब कर्जा(एनपिएल) भने नियन्त्रण गर्न व्यवस्थापन असक्षम देखिएको छ । अघिल्लो आबको तेश्रो त्रैमाससम्म २.८५ प्रतिशत रहेको यस्तो कर्जा बढेर यो वर्ष २.९१ प्रतिशतको उचाईमा पुगेको हो ।

बैंकले बढेको चुक्तापूँजी अनुसार नाफा कमाउन नसक्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ४४.९७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर यो वर्ष ४२.५७ रुपैयाँ कायम भएको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७४.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.५४ गुणा कायम भएको छ ।