काठमाण्डौ । जीवन बिमा कम्पनीको कुल बजारको ३३ प्रतिशत हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३१ लाख कित्ता शेयर अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ । 

कम्पनीको १६ औं साधारणसभाले संस्थापक समूहमा रहेको ८० प्रतिशत सेयरलाई ७० प्रतिशतमा झार्दै बाँकी १० प्रतिशत अतिरिक्त निस्कासनको स्वीकृति प्रदान गरेको हो । 

१० प्रतिशत शेयर अर्थात ३१ लाख कित्ता शेयर एफपीओ गरिएपछि कम्पनीको पूँजीमा ३१ करोड रुपैयाँ थपिनेछ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा अतिरिक्त प्रिमियम थपेर एफपिओ हुने बताइएको छ । 

अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ । शेयरधनीहरुलाई चुक्तापुँजीको २६.३१५८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव समेत पारित भएको छ । वोनसपछि कम्पनीको पुँजी दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ पुग्ने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले एफपिओपछि सर्वसाधारणको शेयर हिस्सा थपिने र यसले बजारमा कायम हुने शेयर मूल्यमा पनि स्थायीत्व आउने दाबी गरे । कम्पनीको शेयर मूल्य एउटा उचाईमा पुगिसकेकोले त्यसलाई सबै लगानीकर्ताको पहुँचभित्र ल्याउन पनि एफपीओले मद्धत गर्ने उनको भनाई छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नाफामा शतप्रतिशत वृद्धि गरेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीले २३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा ११ करोड ८७ लाख रुपैयाँ मात्र थियो ।