काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमीटेडको खूद नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाल बैंकको खूद नाफा करिब ६ प्रतिशतले घटेको हो । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९७ करोड १३ लाखमा सीमित खूद नाफा घटेर यो वर्ष ९१ करोड ३८ लाखमा सीमित बन्न पुगेको हो ।

बैंकको वितरणयोग्य मुनाफातर्फ भने झिनो मात्र प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा ९७ करोड १३ लाख रहेको यस्तो नाफा बढेर ९७ करोड ९१ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष ९१ करोडमा सीमित संचालन मुनाफा बढेर १ अर्ब २८ करोडको उचाईमा पुगेको छ।

व्यवसाय बिस्तारमा व्यवस्थापनले ध्यान नदिएका कारण खूद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष १ अर्ब ३९ करोड रहेको यस्तो आम्दानी घटेर १ अर्ब ३६ करोडमा सीमित भएको हो ।

समीक्षा अवधिमा नेपाल बैंकले ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरी ७९ अर्ब ४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९२ अर्ब ७२ करोड निक्षेप संकलन गरी ७३ अर्ब ६९ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा बैंकको रिजर्बतर्फ भने निकै ठूलो फड्को मारेको देखिएको छ । एफपीओ निश्कासन गरेका कारण सो क्रममा प्रिमियमबाट निकै राम्रो रकम सञ्चिती बढेका कारण रिजर्बतर्फ ३१२ प्रतिशतको फड्को मारेको हो ।

अघिल्लो वर्ष ४ अर्ब ७५ करोड रुपैयाँ रहेको रिजर्बमा १९ अर्ब ६० करोड जम्मा भएको छ । 

बैंकले अघिल्लो वर्ष ३.४२ प्रतिशत रहेको खराब कर्जा अनुपातलाई घटाएर २.७८ प्रतिशतमा झारेको छ भने नाफा घटेको र चुक्तापुँजी बढेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । अघिल्लो वर्ष ४८ रुपैयाँ ३१ पैसामा सीमित प्रतिसेयर आम्दानी घटेर यो वर्ष ३९ रुपैयाँ ९३ पैसामा सीमित भएको हो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ८९ पैसा कायम भएको छ ।