काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्धक निर्देशक(एमडी)मा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । 

छनौट समितिले सिफारिस ती तीन नाममध्येबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी दिने क्याबिनेटले निर्णय गरेको हो । 

छनौट समितिले अधिकारीसहित टेलिकमका पूर्व प्रबन्धक निर्देशक बुद्धिप्रसाद आचार्य र टेलिकमकै दशौं तहकी कर्मचारी संगीता पहाडी अर्यालको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्री कार्यालयस्थित स्रोतका अनुसार सिफारिस तीन नाममध्ये उनीहरुबाट प्रस्तुत कार्ययोजनाका आधारमा दिइएको नम्बर र कार्यक्षमता समेतलाई ख्याल गरी अधिकारीलाई टेलिकमको एमडी बनाउने निर्णय भएको हो । 

सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा प्रबन्ध निर्देशकका लागि छनौट समिति गठन गरेको थियो । सोही समितिले बिहीबर साँझ  अधिकारी, आचार्य र अर्यालको नाम सिफारिस गरेको थियो । 

 एमडीमा नियुक्त अधिकारी टेलिकमकै दशौं तहमा कार्यरत व्यवस्थापक हुन् भने उनी हाल प्रबन्ध निर्देशकको प्राविधिक सल्लाहकारको रुपमा कार्यरत थिए ।

सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग उनको खास निकटता रहेकोले टेलिकमभित्रै पनि उनलाई भावी प्रबन्ध निर्देशकको रुपमा हेर्ने गरिएको थियो ।

सरकारले टेलिकमको प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । यो क्रममा १० जनाले आवेदन दिएका थिए । 

छनौट समितिले तीमध्ये ८ जनाको नाम सर्टलिस्टमा समावेश गरी उनीहरुबाट व्यवसायिक कार्ययोजना मागेको थियो । 

एमडीको सर्टलिस्स्टमा बुद्धिप्रसाद आचार्य, डा। बिमल आचार्य, सनाउल्लाह खान, संगीता पहाडी अर्याल, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्याय परेका थिए । 

यी ८ मध्ये प्रदीपराज उपाध्यायलाई समेत प्रबन्ध निर्देशकको रुपमा हेरिए पनि उनको राजनीति लाइन नमिल्दा अन्तिम ३ मा पर्न नसकेका स्रोत बताउँछ ।