काठमाण्डौ ।'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि-२०७५' अनुसार नेपाल बैंकले पनि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेको छ । 

यो बैंकले ४.५२ प्रतिशत ब्याजदरमै सहुलियत कर्जा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको हो । 

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि भदौ २१ गतेको क्याबिनेटबाट स्वीकृत भएको थियो । यसपछि यो कार्यविधि अन्तर्गत रहेर यसअघि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३.३३ प्रतिशत मै सहुलियत कर्जा दिने कामको सुरुवात गरेको थियो । 

सरकारले राष्ट्रबैंकमार्फत यस्तो कर्जाको कार्यविधि बनाएर प्रत्येक बैंकलाई पठाइसकेकोले त्यसमा तोकिए अनुसारकै न्यून ब्याजमा लक्षित वर्गले ऋण पाउनेछन् ।

यो कार्यविधि अन्तर्गत शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्पपीडितहरुको निजी आवास निर्माण, एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जाहरुमा सरकारले ब्याज अनुदान दिनेछ । 

बैंकहरुले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याजदर तोक्न पाउने सरकारी कार्यविधिमा उल्लेख छ । यसको अर्थ राष्ट्रिय वाणिज्य बैंकको अहिले आधार दर ७.५२ प्रतिशत रहेको र यसमा २ प्रतिशत विन्दू जोड्दा ब्याज ९.५२ प्रतिशत कायम हुन्छ । महिला उद्यमीहरुले लिने ब्याजमा ६ प्रतिशत अनुदान दिइएका कारण उनीहरुले ३.५२ प्रतिशतमै र अन्यमा ५ प्रतिशत अनुदान भएकोले ४.५२ प्रतिशत ब्याजमै ऋण पाउने छन् ।

ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको हुनेछ । तर, व्यवसायको प्रकृति अनुसार कर्जाको अवधि बैंक तथा बित्तीय संस्थाले तोक्न पाउने छुट समेत छ ।

यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाको सीमा प्रति ऋणि ५ करोड रुपैयाँ भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिका लागि पेश गर्नुपर्नेछ । 

कुन क्षेत्रमा कति ऋण पाइन्छ ?

  • व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा: रु. ५ करोडसम्म
  • शिक्षित युवा स्वरोजगार कर्जा: रु. ७ लाखसम्म
  • विदेशबाट फर्केका युवा परियोजना कर्जा: रु. १० लाखसम्म
  • महिला उद्यमशील कर्जाः रु.१५ लाखसम्म
  • दलित समुदाय व्यवसाय विकास कर्जा: रु.१० लाखसम्म
  • उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा: रु. ५ लाखसम्म
  • भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा: रु. ३ लाखसम्म

कुन कर्जामा के धितो राख्ने ?

  • कार्यविधिले तोकेअनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रवाह गर्दा १० लाख रुपैयासम्म सामूहिक जमानीका आधारमा र त्यसभन्दा बढी व्यवसायिक परियोजना धितोमा कर्जा प्रवाह गर्न सक्नेछन् । यस्तो कर्जा प्रवाह गर्दा परियोजनाको संभाव्यतालाई मुख्य आधारको रुपमा लिइनुपर्छ ।
  • उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित बैंक तथा बित्तीय संस्थाले निवेदनको सक्कल शैक्षिक प्रमाणपत्र धितो स्वरुप राख्नेछ ।
  • विदेशबाट फर्केका युवाहरुलाई उनीहरुमा रहेको ज्ञान तथा सीपसँग सम्बन्धित व्यवसाय संचालन गर्न परियोजना धितोमा राखिनेछ ।
  • महिला उद्यमशीलता कर्जा एकल वा सामूहिक जमानीको आधारमा प्रवाह गरिनेछ।
  • दलित समुदाय विकास कर्जा लिंदा एकल वा सामूहिक जमानीमा बस्नुपर्नेछ।

महिला उद्यमशीलता विकासका लागि प्रदान गरिने कर्जा, सामूहिक जमानीमा प्रदान गरिने १० लाख रुपैयाँसम्मको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा र दलित समुदायलाई प्रदान गरिने कर्जाको सुरक्षण देहाय बमोजिम हुनेछ:

  • ऋणिले संचालन गरेको उद्यम,
  • ऋणिको कर्जा सम्बन्धी कागजात
  • सामूहिक जमानीको हकमा सो सम्बन्धी कागजात
  • भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह हुनेछ ।

कर्जाका लागि योग्यता र शर्त
यो कार्यविधि अनुसार ऋण लिन स्थायी लेखा नम्बर लिएको र कर्जा सूचना केन्द्रको कालोसूचिमा नपरेको नेपाली नागरिक हुनुपर्नेछ ।
व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जाका शर्त

  • व्यक्तिको हकमा १८ वर्ष पूरा भएको हुनुपर्नेछ ।
  • १० लाख रुपैयाँ भन्दा कमको सामूहिक जमानी कर्जाको हकमा कर्जा जमानी सम्बन्धी कागजात
  • १० लाख रुपैयाँ भन्दा बढीको कर्जाका लागि अनिवार्य रुपमा संस्था र एक करोड रुपैयाँ भन्दा बढीको कर्जाका लागि अनिवार्य रुपमा कम्पनी हुनुपर्ने
  • संस्था वा कम्पनीको हकमा नेपाली नागरिकको सतप्रतिशत सेयर स्वामित्व रहेको

शिक्षित युवा स्वरोजगार कर्जाका शर्त

  • कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष ननाघेको
  • घरेलु तथा साना उद्योग कार्यालय समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायतका सरकारी निकायहरुबाट कम्तीमा ७ दिनको उद्यम तथा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रुपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाण पेश गरेको 

वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाका शर्त

  • श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धित तालिम, पेशा वा व्यवसाय क्षेत्रमा काम गरी स्वदेश फर्किएको, तर कुनै पनि देशको स्थायी बसोबासको स्वीकृति प्राप्त व्यक्तिले यस्तो कर्जा पाउदैन ।
  • विदेशबाट फर्किएको ३ वर्ष पूरा भएको ।

महिला उद्यमशीलता कर्जाका शर्त

  • १८ वर्ष उमेर पूरा भएको महिला वा समूहको हकमा फरक परिवारका कम्तीमा पाँचजना १८ वर्ष उमेर पूरा भएका महिला
  • उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव
  • समूहको हकमा सामूहिक जमानी सम्बन्धी कागजात ।

दलित समुदाय व्यवसाय विकास कर्जाका शर्त

  • दलित जातजातिभित्रको १८ वर्ष उमेर पूरा भएको वा समूहको हकमा उक्त जातजातिभित्रका फरक परिवारका कम्तीमा ५ जना १८ वर्ष उमेर पूरा भएको
  • उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव
  • समूहको हकमा सामूहिक जमानी सम्बन्धी कागजात ।

उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका शर्त

  • माध्यमिक शिक्षा वा सोसरह उत्तीर्ण गरी २५ वर्ष उमेर ननाघेको
  • आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी
  • स्वदेशको कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेको वा गर्ने

भूकम्पपीडितहरुको  निजी आवास निर्माण कर्जाका शर्त

  • नेपाल सरकारले निजी आवास अनुदान दिए बाहेक अरु संस्थागत अनुदान नपाएको
  • राष्टिय पुननिर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरी आर्थिक अभावका कारण हालसम्म आवास निर्माण कार्य सुरु गर्न नसकेका भूकम्पपीडित
  • ऋणि वा निजको परिवारको नाममा कुनै पनि स्थानमा बस्नयोग्य घर नभएको

सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिको पूर्ण विवरण यसप्रकार छ, बाँकी जानकारी यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ: