काठमाण्डौ । आकर्षक लाभांश पाउने आशामा नेपाल लाइफ इन्स्योरेन्सले विगत ५ दिनदेखि लोभलाग्दो कारोबार गरिरहेको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेसँगै यो कम्पनीको सेयर उठाउनेहरु बढेका हुन् । 

फागुन १५ गतेसम्म नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो बजारमा प्रतिकित्ता १०१५ रुपैयाँ सेयर कारोबार भइरहेको थियो । 

आकर्षक लाभांश घोषणासँगै यो कम्पनीको सेयर मूल्य बढर बिहीबारसम्म १ हजार ११० रुपैयाँको उचाईमा पुगेको हो । 

यो हिसाबले ५ दिनको कारोबार अवधिमा नेपाल लाइफको सेयर प्रतिकित्तामा ९५ रुपैयाँको बढोत्तरी भएको छ । यो हिसाबले हेर्दा फागुन १५ गतेको तुलनामा ९.३५ प्रतिशतले मूल्य बढेको देखिएको छ ।

अधिकांश वित्तीय सूचकहरु बलिया भएको र प्रत्येक वर्ष आकर्षक लाभांश वितरण गर्दै आएको कम्पनी भएका कारण नेपाल लाइफमा अझै खरीद चाप रहने संभावना छ । 

बजार बढ्न थालेको अवस्थामा राम्रा कम्पनीको सेयर उठाउने रणनीति अन्तरगत लगानीकर्ताले नेपाल लाइफलाई समेत रोज्ने निश्चित देखिन्छ ।