काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म माग गरेभन्दा ३२.५१ गुणा बढी आवेदन परेको छ ।

यो कम्पनीको आइपीओमा तेश्रो दिन मंगलबार साँझ ५ बजेसम्म देशभरबाट २ लाख ३७ हजार ३५ आवेदनमार्फत ४९ लाख १६ हजार ९५० कित्ताका लागि आवेदन परेको हो । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गरेको हो । 

कम्पनीले निश्कासन गरेको कुल कित्तामध्ये २ हजार ४८९ कम्पनीका कर्मचारीका लागि, ८ हजार ८९ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता मात्रै सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

आइपीओमा न्यूनतम १० र अधिकतम ८०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

रु। ३ करोड भन्दा कमको आइपीओलाई क्रेडिट रेटिंग गर्न नपर्ने सुविधा उपलब्ध छ ।

वि।सं। २०७३ सालबाट संचालनमा आएको यो लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय कास्कीको पोखरामा छ । 

हाल यो कम्पनीको कार्यक्षेत्र कास्कीसहित पर्वत, बाग्लुङ, पाल्पा, सल्यान, गुल्मी, तनहुँ, लमजुङ, प्यूठान र रोल्पा रहेको छ । 

लघुवित्तको आइपीओ लगानीका लागि आकर्षणको केन्द्र रहेकोले उचालिएर धेरै आवेदन दिनु बेकार हुनेछ । तसर्थ, १००० रुपैयाँ हालेर १० कित्ताका लागि आवेदन दिनु उचित हुन्छ । भाग्य बलियो भए लघुवित्तको सेयर परे, त्यसले राम्रो रिटर्न दिन्छ ।