काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा माग गरेभन्दा ४३.२६ गुणा बढी आवेदन परेको छ ।

यो कम्पनीको आइपीओमा चौथो दिन बुधबार साँझ ५ बजेसम्म देशभरबाट ३ लाख २० हजार ६९७ आवेदनमार्फत ६५ लाख ४१ हजार १०० कित्ताका लागि आवेदन परेको हो । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गरेको थियो । बुधबार कम्पनीको आइपीओमा आवेदन दिन अन्तिम दिन थियो । 

कम्पनीले निश्कासन गरेको कुल कित्तामध्ये २ हजार ४८९ कम्पनीका कर्मचारीका लागि, ८ हजार ८९ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता मात्रै सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

आइपीओमा न्यूनतम १० र अधिकतम ८०० कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

वि.सं. २०७३ सालबाट संचालनमा आएको यो लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय कास्कीको पोखरामा छ । 

हाल यो कम्पनीको कार्यक्षेत्र कास्कीसहित पर्वत, बाग्लुङ, पाल्पा, सल्यान, गुल्मी, तनहुँ, लमजुङ, प्यूठान र रोल्पा रहेको छ ।