काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ६२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

बैंकले एफपीओ जारी गरेपछि जम्मा भएको सेयर प्रिमियमलाई समेत हिसाब गर्ने हो र अहिलेको वितरणयोग्य मुनाफा चौथो त्रैमासमा समेत कायम हुने र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्नुपर्ने अवस्था नरहेमा नेपाल बैंकले यो वर्ष सेयरधनीलाई ५० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

तेश्रो त्रैमासको वितरणयोग्य मुनाफा चौथो त्रैमासमा समेत निरन्तर रहे नेपाल बैंकले यो वर्ष करिब २ अर्ब १६ करोड यस्तो नाफा आर्जन गरेको छ। यो बैंकको रिटेन अर्निङ अकाउण्ट ४३ करोड ७१ लाखले नकारात्मक रहेकोले १ अर्ब ७२ करोड मात्र वितरण गर्नसक्छ । बैंकको चुक्तापूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । यसको अर्थ कम्पनीले वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्तालाई १७ प्रतिशत लाभांश बाँड्नसक्छ । 

बैंकमा सेयर प्रिमियमको रुपमाा ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ, जहाँबाट बैंकले बढीमा ३३ प्रतिशत लाभांश वितरण गर्नसक्नेछ । 

यसरी हेर्दा वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट नेपाल बैंकले आफ्ना सेयरधनीलाई ५० प्रतिशतसम्म लाभांश दिनसक्ने देखिएको हो । 

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा बैंकको नाफा भने घटेको छ । अघिल्लो वर्ष २ अर्ब ५६ करोड रहेको नाफा घटेर २ अर्ब २४ करोडमा सीमित बन्न पुगेको हो । 

यस्तै, ३ अर्ब ६१ करोड रहेको संचालन मुनाफा समेत घटेर ३ अर्ब १२ करोडमा सीमित भएको छ । ४ अर्ब ५५ करोड रहेको खूद ब्याज आम्दानी बढेर ४ अर्ब ७२ करोड रुपैयाँको उचाईमा पुगेको छ भने १४ अर्ब ९२ करोडमा सीमित रिजर्बको आकार बढी २० अर्ब माथि पुगेको छ । 

समीक्षा अवधिमा नेपाल बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब १९ करोड कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको तुलनामा ६.१२ प्रतिशतले निक्षेप बढाएको बैंकले कर्जा बिस्तारतर्फ भने १६.७२ प्रतिशतको बढोत्तरी गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा २.९१ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात २.७१ प्रतिशतमा सीमित भएको छ भने २.९७ रहेको कस्ट अफ फण्ड ह्वात्तै बढेर ४.११ प्रतिशत पुगेको छ। 

अघिल्लो वर्ष ७.११ प्रतिशत रहेको बेसरेट घटेर यो वर्ष ६.९२ प्रतिशतमा सीमित भएको छ भने ४२.५७ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ३०.५२ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ३०४.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.७३ गुणा कायम भएको छ ।