काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र खरिद गर्ने आज आइतबार अन्तिम दिन रहेको छ। 

सर्वधारणले नेपाल बैंगलादेश बैंकको कुनै पनि शाखा तथा सिआस्बामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । 

वैशाख २३ गते धितोपत्र बोर्डले नेपाल बंगलादेश बैंकको रु. २ अर्ब बराबरको ऋणपत्र (डिवेञ्चर २०८५) लाई निश्कासन अनुमति दिएको थियो।

पछिल्लो समय नेपाल राष्ट्रबैंकले ऋणपत्र निश्कासनलाई प्राथमिकतामा राख्न निर्देशन दिएसँगै वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै ऋणपत्र निश्कासनमा केन्द्रीत हुन थालेका छन् । 

बोर्डको अनुमतिसँगै एनबी बैंकले गत जेठ १० गते रु. १००० अंकित दरका २० लाख कित्ता ऋणपत्र निश्कासन गरेको हो । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले काम गरेको छ । 

रु. २ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रु. १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) र ४० प्रतिशत अर्थात रु. ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ । 

दश वर्षे अवधिको ऋणपत्रमा १०.२५ प्रतिशत वार्षिक ब्याज प्रदान गरिनेछ। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।