काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको गौरवपूर्ण इतिहास बोकेको नेपाल बैंक लिमिटेडलाई आफ्ना विगतका कमीकमजोरी नदोहोराउन सुझाव दिएका छन् ।

मुलुकको अग्रणी बैंक नेपाल बैंक सेवाको ८३ औ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपाल बैंकले निक्षेप, कर्जालगायत समग्र कारोवार र कर्मचारी उत्पादत्वमा गुणात्मक वृद्धि गर्नुपर्नेतर्फ ध्यानाकर्षण पनि गराए। उनले बैंकका एकसाथ खुलेका २० वटा शाखा तथा काउन्टर र बैंकको प्रधान कार्यालयमा स्थापित संग्रहालयको उद्घाटन पनि गरे ।

सोही अवसरमा संग्रहालय निर्माणमा योगदान पुर्याउने उदेशलाल श्रेष्ठ, यमुना महर्जन र जनसेवा ट्राफिक प्रहरी प्रतिनिधिलाई अर्थमन्त्री खतिवडाले प्रशंसापत्र प्रदान गरे। उनले उत्कृष्ठ कार्य गर्ने ६ शाखालाई पुरष्कार, कर्मचारीलाई दीर्घसेवा पदक र अतिरिक्त क्रियाकलापका विजयी टिम क्याप्टन सञ्जीव जोशीलाई पुरष्कार प्रदान गर्नुका साथै बैकको प्रकाशन आर्थिक विशेषांक विमोचनसमेत गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका का.मु. गभर्नर चिन्तामणि शिवाकोटीले बैकले सहुलियतपूर्ण कर्जा विस्तारमा जोड दिनुपर्ने बताए । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले विगतमा संकटको सामना गरेको बैंकमा अब संकट आउन नदिनेतर्फ सजगता अपनाइने र ग्राहकमैत्री प्रडक्ट ल्याई ज्येष्ठ बैंकलाई श्रेष्ठ बैंकमा रुपान्तर गरिने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैक देशमा उद्यम, उत्पादन, रोजगारी सिर्जनामा गम्भीर रहेको र यससम्बन्धी सरकारी नीति कार्यान्वयनमा सघाउन बैंकले १३९६ वटा कर्जामा २ अर्ब २ करोड सहुलियतपूर्ण कर्जा प्रवाहित गरेको जानकारीसहित ग्राहक सेवा, वित्तिय सवलता सबै आधारमा बैकलाई नेपालको बैकिङ बजारमा मानक बैंकका रुपमा विकास गर्ने प्रतिबद्धता प्रकट गरे।

सोही अवसरमा बैंकले सार्वजनिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानव कल्याण समाज भक्तपुरलाई रु ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।