काठमाण्डौ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति प्रक्रिया र लाभांश पारितको मुख्य अजेन्डासहित नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर २९ गते आइतबार काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६.८४ प्रतिशत लाभांश पारित हुनेछ । बैंकले ६ प्रतिशतले हुन आउने ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँबराबरको बोनस सेयर र १०.८४ प्रतिशतले हुन आउने ९१ करोड ६० लाख ७६ हजार ६३६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी सभामा विशेष प्रस्तावका रुपमा राखिने अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने गराउने सम्बन्धमा प्रचलित नियम, कानुनबमोजिम बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कामहरु गर्न गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने अजेन्डा पनि पारित हुनेछ ।

साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर १३ गतेदेखि मंसिर २९ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ । यसको अर्थ बैंकद्वारा प्रस्तावित लाभांश पाउन र साधारणसभामा भाग लिन मंसिर १२ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।