काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ ।

यो सेवा उपयोग गर्न सर्वप्रथम नेपाल टेलिकमको ‘नेपाल टेलिकम’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्लेस्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिस्टर’ मा क्लिक गर्नुपर्दछ ।

एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्डलगायत विवरण राखेपछि लग इन हुन्छ । यसपश्चात मोबाइलमा तत्कालै सन्देशका रुपमा एकपटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी कम्पनीको एप प्रयोग गर्न सकिन्छ ।

यही एपमार्फत तपाइँ आफन्त वा साथीभाईलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सक्नुहुनेछ । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनुहुन्छ भने एप खोली ‘गिफ्ट प्याकेज्स’ मा क्लिक गर्नुपर्दछ । त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घन्टासम्म २८ एमबी डाटा चलाउन सकिने, रु. ३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, रु. ६० मा ७ दिनको १९० एमबी र रु. १०० को ५०० एमबी तथा रु.२४० को २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ ।

कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

यसैगरी यही एपको ‘गिफ्ट प्याकेज्स’ मा गई भ्वाइस क्लिक गरी रु. २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने जम्मा रु. १ सयमात्र लाग्दछ । जम्मा रु. २४० मा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिनेछ । साथै रु. ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ।

यसैगरी http://offer.ntc.net.np/ मा गएर पनि आफूले चाहेबमोजिमका प्याकेजहरु साथीभाइ र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यस योजनामा जसले गिफ्ट दिने हो उनकै मोबाइल व्यालेन्सबाट रकम कटिन्छ ।